११ पुष २०८१, बिहिवार

गंगा आरतीले धपक्कै अर्जुनधारा धाम

१० मंसिर २०८१, सोमवार
Image

शनिश्चरे, १० मंसिर । ओम जय जगदीश हरे...को मन्त्रमय मधुर ध्वनी अनि आरती उतार्ने ज्योतिको चम्किलो प्रकाशले कसको मन नलोभ्याउला ! यही प्रकाशमय ध्वनीका कारण वृहत धार्मिक अनुष्ठान भइरहेको अर्जुनधारा जलेश्वर धाममा साँझको गंगा आरती दर्शनार्थीको आकर्षण बन्ने गरेको छ ।

पूर्वको पशुपतिनाथको रुपमा प्रख्यात यस धाममा शनिवारदेखि अष्टोत्तोरशत १०८ श्रीमद् भागवत पाठ पारायण र हवनात्मक महायज्ञ भइरहेको छ । प्रसिद्ध हिन्दू धर्मगुरु कालिदास बाबा र श्रीकृष्ण प्रणामीका धर्मगुरु मोहन प्रियाचार्यले अनुष्ठानको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

धाममा हरेक साँझ ५ः३० बजे गंगा आरती हुने गरेको छ । विशेष शैली र विधिद्वारा हुने आरती हेर्न ठूलो संख्यामा दर्शनार्थीको भीड लाग्ने गरेको धामका संचार संयोजक उमाकान्त खनालले जानकारी दिनुभयो । आज तेस्रो साँझ पनि आरती हेर्न उत्तिकै भीड लागेको उहाँले बताउनुभयो ।

“दिनभरि भागवत कथा श्रवण र धर्मगुरुहरुको आशिर्वचन लिनेहरुको घुइँचो लाग्छ,” उहाँले भन्नुभयो–“साँझमा आरतीको भिन्नै आकर्षण छ । टाढा टाढाबाट आरती हेर्न दर्शनार्थीहरु आउने गर्नु भएको छ ।”

धाममा साँझको आकर्षण बढ्नुमा त्यहाँ प्रयोग गरिएको लाइट सिस्टम मुख्य कारण मानिएको छ । शनिश्चरे बजारदेखि नै प्रवेशद्वारका साथै रंगिन लाइटहरुले झकिझकाउ बनाइएको छ । विभिन्न देवी देवताको आकृति झल्किने लाइट सिस्टमका लागि आयोजकले रु. १६ लाखभन्दा बढी लगानी गरेको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिनुभयो ।

यज्ञकुटीमा पनि दर्शनार्थीको आकर्षण देखिने गरेको छ । जहाँ ५१ जना बटुकहरुले नियमित रुपमा हवन गरिरहेका हुन्छन् । 

तस्वीरहरु : उमाकान्त खनाल र तिलक योञ्जन