२० मंसिर २०८१, बिहिवार

डीएनए परीक्षणको अन्योलले किसानको सुपारी बिकेन

१९ मंसिर २०८१, बुधवार
Image

झापा, १९ मङ्सिर । संसद्को विषयगत समितिले सुपारीको डीएनए (बंशाणु) परीक्षण गरेर मात्र निर्यात गर्ने अनुमति दिन सरकारलाई निर्देशन दिएका कारण पूर्वी नेपालको प्रमुख नगदे बाली सुपारीको व्यापार अन्योलमा परेको छ ।

झापा लगायतका विभिन्न जिल्ला सुपारीको वर्षौदेखि उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान संघका अनुसार नेपालमा लगभग १५ हजार मेट्रिक टन सुपारी वर्षेनी उत्पादन हुन्छ । जसको बजार मूल्य रु. आठ अर्बदेखि १२ अर्बसम्म हुन्छ । 

सरकारी नीतिगत अकर्मण्यताका कारण झापादेखि उदयपुरसम्म सुपारी खेतीमा आवद्ध एक लाख किसानको भविष्यमाथि कालो बादल मडारिन थालेको संघका केन्द्रीय अध्यक्ष निलकण्ठ तिवारीले बताउनुभयो ।

“संसद्को समितिले डीएनए जाँच गरेर मात्र निर्यात गर्ने व्यवस्था मिलाउनु भनेर अर्थ र वाणिज्य मंत्रालयहरुलाई निर्देशन दिएको छ,” उहाँ भन्नुहुन्छ–“दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डीएनएन, केही अत्तोपत्तो छैन ।”

वि.सं. २०७९ साउन १३ गते राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन विकास समितिले डीएनए परीक्षणपछि मात्र सुपारी निर्यात अनुमति प्रदान गर्न वाणिज्य मन्त्रालय र अर्थमन्त्रालयमा पत्राचार गरेको उहाँले बताउनुभयो । डीएनए परीक्षण नै गर्ने भए तापनि सरकारले अहिलेसम्म सुपारीको डीएनए जाँच हुने प्रयोगशाला स्थापना गरेको छैन ।

नेपालमा उत्पादित सुपारी निर्यातका लागि भारत सरकारले कोटा तोक्ने गरेको छ । इन्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डीएनए गरेर देशभित्रै उत्पादित प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । तर, समाधानको उपाय ननिस्कदा यही डीएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसानहरु बताउँछन् । बिगत वर्षदेखि नै किसानले फलाएको सुपारीको निर्यात हुन सकेको छैन । 

मेचीनगर नगरपालिका वडा नं. ४ का जीवन पाण्डे यस वर्ष बगानमा फलेका सुपारी नबिक्ने हुन् कि भन्ने चिन्ताले पिरोलिएको बताउनु हुन्छ । धान खेत मासेर उहाँले डेढ बिगाहा जग्गामा सुपारीको खेती लगाउनु भएको छ ।

“बोटमा लटरम्म दाना लागेका छन्, किन्ने व्यापारी आउँदैनन्,” सुपारी किसान पाण्डेले समस्या सुनाउँदै भन्नुभयो–“दुई वर्ष अघि व्यापारीहरु सुपारीका चिचिला लाग्दादेखि नै बगान किन्न कसिन्थे ।” उहाँको बगानमा रु. दुई लाख ५० हजार मूल्य बराबरको सुपारी फलेका छन् ।

मेचीनगर–४ बाहुनडाँगीका वडा सदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारिकरणमा समेत सहजिकरण नगरेको गुनासो व्यक्त गर्नुभयो ।

बाहुनडाँगीमा जंगली हात्तीले धान, मकै लगायतका अन्न बाली खाएर नोक्सानी गर्न थालेपछि किसानहरु जीविकाका लागि सुपारी, चिया लगायतका नगदे बालीको उत्पादनतर्फ आकर्षित भएको जनाउँदै उहाँले सुपारी समेत नबिक्ने समस्या आएपछि किसानहरुको विचल्ली भएको बताउनुभयो ।

हरेक वर्ष असोजदेखि नै व्यापारीहरु सुपारीको बगान खरिद गर्न गाउँ डुल्ने गर्थे । यसपाली सुपारी उत्पादन हुने मुख्य स्थानहरु बाहुनडाँगी, शनिश्चरे र बुधवारेका सुपारी बगान सुनसान छन् । यसवर्ष मङ्सिरको दोस्रो साता बितिसक्दा समेत व्यापारीहरु नआउँदा किसान चिन्तित बनेका छन् ।

सुपारी उत्पादक किसान संघका अध्यक्ष तिवारी सुपारीको डीएनए परीक्षणमा अल्झिन नहुने बताउनुहुन्छ । सरकारले दानाको डीएनए परीक्षण हुनुपर्ने दावी गरे तापनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डीएनए सम्भव नहुने उहाँले दावी गर्नुभयो ।