झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको आज उद्घाटन तथा बृहत गुरुयोजनाको शिलान्यास गर्नुभएको छ ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई विगाह पाँच कठ्ठा जमिन निःशुल्क प्रदान गर्नुभएको छ । सोही जमिनमा निर्माण गरिएको आश्रमको उद्घाटन प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले गर्नुभएको हो । शाक्य मानव सेवा आश्रमको संरक्षक हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै मावनताभन्दा ठूलो अर्को सिद्धान्त नभएको बताउनुभयो । उहाँले आश्रमले मानवताको क्षेत्रमा उत्साहजनक काम गर्दै आएकोमा प्रशंसा गर्दै आफ्नो एक महिनाको पारिश्रमक समेत भवन निर्माणका लागि प्रदान गर्नुभएको छ । “म मेरो एक महिनाको तनाखा भवन निर्माणमा दान गर्छु”, प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “सम्भवत पछि आउने मेरो पनि यही आश्रम हो कि ?”
उहाँले परिवारबाट परित्यक्त सडकमा अलपत्र मानिसहरुलाई सेवा दिने आश्रमका लागि आफ्नो सम्पूर्ण सम्पति दान गर्नुहुने दाता मानुभावहरु धन्यवादको पात्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले जुनसुकै काममा असुन्तुष्टि पोख्न र गाली गर्न सजिलो भए तापनि काम गर्न गाह्रो हुने बताउनुभयो ।
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु आश्रित हुनुहुन्छ । यो संस्थाको १९ औं जिल्ला शाखा हो ।