झापा, १२ पुस । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ वटा मोटरसाइकल दुर्घटना भएका छन् । कूल सवारी दुर्घटनामा यो संख्या ६० प्रतिशत हो ।
चालू आर्थक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार ४९८ वटा सवारी दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलमा भएको र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटनाको संख्या अधिक रहेको कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो ।
“पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी संकेतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ,” उहाँले दुर्घटनाको कारण बताउँदै भन्नुभयो–“तीब्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानवी क्षति धेरै भएको छ ।”
चालु आव २०८१÷०८२ को साउनदेखि मङ्सिरसम्ममा ४३१ वटा टेम्पो, ३४८ जीप र कार, २९४ वटा शारीरिक शक्तिले चल्ने सवारी साधन, १०८ वटा बस, ७४ वटा ट्रक र ट्याङकर र ३२ वटा टिपर दुर्घटना भएका छन् ।
सवारी दुर्घटनामा परी सोही अवधिमा १९१ जनाको मृत्यु भएको छ भने ३२७ जना गम्भीर घाइते भएका छन् । सवारी दुर्घटना प्रायः बेलुका ६ बजे आसपासमा हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा मृत्यु र घाइते हुनेह? २५ बर्षभन्दा माथिका धेरै छन् ।