झापा, १९ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘स्टार्ट अप’ व्यवसाय गर्न चाहने युवालाई बीउ पूँजीस्वरुप सहुलियत व्याजदरमा ऋण दिने भएको छ ।
मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गरी विदेश जानु पर्ने बाध्यता हटाउन यसै वर्षदेखि युवा लक्षित परियोजनामा संस्थाको जगेडा कोषबाट रु. ३० करोड लगानी गरिने कोषाध्यक्ष डम्बरबहादुर देउजाले बताउनुभयो ।
जिल्लाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शेयर पूँजी र बासलातका आधारमा मुलुककै सबैभन्दा ठूलो सहकारी हो । एक लाख ८७ हजार सदस्य आवद्ध रहेको सहारा नेपालले झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी र उदयपुर गरी छ जिल्लामा सेवा प्रदान गरिरहेको छ ।
विदेश पलायन हुनबाट रोक्ने लक्ष्यका साथ यही माघदेखि ३०० जना नवयुवालाई परियोजना हेरी रु. १० लाखसम्म वार्षिक आठ प्रतिशतमा कर्जा उपलब्ध गराइने संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो ।
“युवालाई रोजगारीको अवसर सिर्जना गर्न सकिएन भने हाम्रो देश बुढापाकाहरुको देशमा परिणत हुने अवस्था आइसक्यो,” संस्थाको कार्यक्रम बारे जानकारी दिदै गिरीले भन्नुभयो–“यसका लागि संस्थाले सहकारीमा युवा सदस्य विस्तार गरिरहेको छ । सदस्य बनेका युवालाई परियोजना मूल्यांकन गरेर सहुलियत ऋण दिनेछौं ।”
सहुलियत ऋण लिन १८ देखि ४० वर्ष उमेर ननाघेको र अचल धितो जमानी राख्न सक्ने उद्यमशील युवा सदस्य हुनुपर्ने संस्थाले शर्त राखेको छ । प्रयोगका रुपमा यसवर्ष ३०० जनालाई र आगामी वर्ष प्रगति विवरणका आधारमा संख्या बढाउँदै लगिने उहाँले बताउनुभयो ।
गत वर्षदेखि संस्थाले युवा सदस्य विस्तार गर्ने नीति लिएको हो । रु. एक हजार शेयरपूँजीमा युवा सदस्य बन्न पाउने व्यवस्था रहेको कोषाध्यक्ष देउजाले बताउनुभयो । संस्थालमा हाल १५ हजार युवा सदस्य आवद्ध भइसकेका छन् ।
संस्थामा रु. एक अर्ब ७० करोड शेयरपूँजी, रु. १३ अर्ब ४० करोड बचत र रु. एक अर्ब २६ करोड जगेडा कोष रहेको छ । संस्थाले छ वटा जिल्लामा सञ्चालन गरिरहेको ८२ वटा सेवा केन्द्रमा ४६८ जना कर्मचारी कार्यरत रहेका छन् ।
गरीवी निवारण अन्तर्गत सहारा नेपालले उद्यमशीलता र नगद प्रवाह हेरी सामूहिक जमानीमा आफ्ना सदस्यहरुलाई रु. सात लाख र धितो जमानीमा रु. २० लाखसम्म ऋण प्रवाह गरिरहेको कोषाध्यक्ष देउजाले जानकारी दिनुभयो ।