२१ पुष २०८१, आइतवार

सहारामा ‘सामाजिक सुरक्षा भत्ता कटौती नगर्न’ माग

१९ पुष २०८१, शुक्रवार
Image

झापा, १९ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले ज्येष्ठ नागरिक लगायतका क्षेत्रमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा योजनाको नगद सम्मान नहटाउन माग गरेका छन् ।

संस्थाको सञ्चालक समितिले ज्येष्ठताका आधारमा दिइँदै आएको वार्षिक भत्ता यसै वर्षदेखि कटौती गर्ने प्रस्ताव गरेपछि सदस्यहरुले विरोध जनाएका हुन् ।

संस्थाको धुलाबारी सेवा केन्द्रमा विहीवार आयोजित २८ औं वार्षिक साधारणसभामा यो विषय सदस्यहरुले उठाएका छन् ।

साधारणसभामा वितरण गरिएको आव २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदनमा ज्येष्ठ नागरिक, एकल, अपांगता भएका व्यक्ति लगायतको सामाजिक सुरक्षा योजना कटौती गरिएको स्पष्ट उल्लेख छ ।

प्रतिवेदनमा प्रकाशित नीति तथा कार्यक्रममा सदस्य सचिव तथा कार्यकारी प्रमुख महेन्द्र गिरीले आव २०८१/०८२ मै ६५ वर्ष पूरा भएका ज्येष्ठ सदस्यहरु, एकल महिला सदस्य तथा अपांगता भएका व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप मात्र रु. चार हजार उपलब्ध गराइने उल्लेख गर्नु भएको छ ।

उहाँले यसवर्ष उक्त भत्तालाई रु. चार हजारमा सीमित बनाउने र आगामी वर्षदेखि फरक ढंगले सदस्य सम्मानको रुपमा मात्र अघि बढाउने प्रस्ताव गर्नु भएको छ । 

जबकि सहारा नेपालले बिगत वर्षहरुमा आकर्षक योजनाका रुपमा उक्त क्षेत्रमा वार्षिक भत्ता दिदै आएको थियो । यसअघि संस्थाले ज्येष्ठ सदस्यमध्ये ८५ वर्ष पूरा भएकाहरुलाई वार्षिक रु. २५ हजार दिने गरेको थियो भने अपांगता भएका व्यक्ति, एकल महिला र अन्य ज्येष्ठ सदस्यलाई रु. छ देखि १० हजारसम्म वार्षिक भत्ता उपलब्ध गराउँदै आएको थियो ।

सहाराका सदस्य देबेन्द्र दाहालले साधारणसभामा बोल्दै ज्येष्ठ नागरिक लगायतले पाउँदै आएको नगद सम्मान कुनै हालतमा पनि हटाउन नहुने सुझाव राख्नु भयो ।

“ज्येष्ठ नागरिकहरुको सम्मानमा सहाराले सरकारले जस्तै भत्ता दिन्छ भन्ने विषय हाम्रो संस्थाको पहिचान बनिसकेको छ,’ दाहालले केन्द्रीय सञ्चालक समितिको ध्यानाकर्षण गर्दै भन्नुभयो–“सहाराका हजारौं सदस्यको आशा र भरोसामाथि घात गर्नु हुँदैन ।”

उहाँले सहकारीप्रति आम जनसमुदायको हेर्ने दृष्टिकोण नराम्रो भइरहेको र त्यस्तैखालको नकारात्मक प्रचार बढिरहेको अवस्थामा सहाराले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति लगायतलाई दिदै आएको नगदसहितको सम्मान कटौती गर्दा सहाराकै प्रतिष्ठामा समेत धक्का लाग्न सक्ने सम्बन्धमा सचेत गराउनुभयो ।

दाहाल लगायतका सदस्यहरुले यो विषय जोडतोडका साथ उठाएपछि प्रत्युत्तर मन्तब्यको क्रममा सहारा नेपालका केन्द्रीय कोषाध्यक्ष डम्बरबहादुर देउजाले स्रोत नभएर वा कुनै संकट निम्तिएर उक्त सम्मानमा कटौती नगरिएको बताउनुभयो ।

उहाँले पौने दुई लाख सदस्य रहेको संस्थामा केही हजार सदस्यले मात्र सुविधा पाइरहने विषयमा प्रश्न उठ्न थालेको कारण नयाँ प्रस्ताव गरिएको जनाउँदै यसलाई नहटाउन सदस्यहरुले दिएको सुझावलाई केन्द्रीय समितिमा छलफलको विषय बनाइने जानकारी दिनुभयो ।

आव २०८०/०८१ मा संस्थाले सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत १० हजार ७७९ जना सदस्यलाई रु. ३१ करोड ४६ लाख ६३ हजार २५६ सहयोग गरेको थियो । जसमा ज्येष्ठ सदस्य, एकल, अपांगता भएका व्यक्तिको नगद सम्मानसहित स्वास्थ्योपचार सेवा र मृत्यु राहत सहयोग समेत जोडिएको छ । 

धुलाबारीको अतिथि सदनमा आयोजित इकाई साधारणसभाको प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपाल बुढाथोकी हुनुहुन्थ्यो भने अतिथिहरुमा संस्थाका केन्द्रीय कोषाध्यक्ष डम्बरबहादुर देउजा, केन्द्रीय सदस्य भीम खवास, केन्द्रीय सल्लाहकार हरिचरण बानियाँ, वडाध्यक्ष कञ्चन तामाङ, अग्रज सदस्य मीरा पोखरेल लगायत हुनुहुन्थ्यो ।

इकाइका संयोजक भगिरथ सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा इकाइ सदस्य चन्द्रमणि पौडेलले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने केन्द्रीय सदस्य भीम खवासले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष देउजाले नीति तथा कार्यक्रम र गोपाल भट्टराई लेखा प्रतिवेदन बाचन गर्नु भएको थियो ।


बाह्य ऋण शुन्य

सहारा नेपालले बाह्य ऋण शुन्य बनाएको प्रतिवेदनमा उल्लेख छ ।

२०८१ असार मसान्तसम्ममा संस्थाले ७० हजार २ सय ९७ जना ऋणी सदस्यलाई रु. १० अर्ब ९३ करोड ४५ लाख ६१ हजार ३९८ ऋण लगानी गरेको थियो ।

उक्त अवधिसम्ममा सहाराको शेयर पूँजी रु. एक अर्ब ६७ करोड रहेको थियो भने जगेडा कोषमा रु. एक अर्ब २६ करोड रहेको थियो । 

सहाराले बाह्य ऋण भने शून्य बनाएको छ । अहिले संस्थाले बाहिरका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि ऋण लिएको छैन । 

संस्थामा सोही अवधिमा रु. १२ अर्ब ७५ करोड बचत रहेको र करपछिको नाफा रु. आठ करोड ५२ लाख रहेको प्रतिवेदनमा उल्लेख छ ।