झापा, २० पुस । मुलुकमै विशिष्ट पहिचान बनाउन सफल मेचीनगर लेडी जेसीजको नेतृत्व आजदेखि अध्यक्ष सविता पोखरेलले सम्हाल्नु भएको छ ।
काँकरभिट्टा निवासी पोखरेल जेसीजको सन् २०२५ का लागि अध्यक्ष चयन हुनुभएको थियो ।
गृहसहर काँकरभिट्टाकै खानेपानी कार्यालयको सभाहलमा आज एक समारोहबीच अध्यक्ष पोखरेल र उहाँको टिमले सपथग्रहण गरेको छ ।
पोखरेल नेतृत्वको टिममा कार्यकारीणी दुईजना उपाध्यक्ष सुनिता खतिवडा कोइराला र लक्ष्मी कोइराला सापकोटा हुनुहुन्छ भने चार जना उपाध्यक्षमा कृष्ण कुमारी प्रसाईं (कल्पना), खिना निरौला, नबिना डाँगी र अनिता साह हुनुहुन्छ ।
अध्यक्ष पोखरेलले विधान बमोजिम आजै महासचिवमा शर्मिला तिम्सिना, सहसचिवमा एलिसा बुढाथोकी, कोषाध्यक्षमा तेजकुमारी घिमिरे, कानूनी सल्लाहकारमा रीता श्रेष्ठ र जनसम्पर्क अधिकारीमा रमा निरौलालाई मनोनित गर्नु भएको छ ।
सोही कार्यक्रममा सन् २०२४ को कार्यकाल सम्पन्न गरेको अध्यक्ष पवित्रा विमली प्रसाई नेतृत्वको टिमले सन् २०२५ को टिमलाई पद हस्तान्तरण गरेको थियो ।
पद हस्तान्तरण क्रममा अध्यक्ष पवित्रा विमली प्रसाईको गलाबाट झिकेर जेसीज चेन अध्यक्ष सविता पोखरेलको गलामा पहिर्याउँदा वातावरण नै भावुक बनेको थियो ।
सन् २०२४ की अध्यक्ष प्रसाईले आफ्नो अध्यक्षकीय अन्तिम मन्तब्यमा जेसीजबाट जीवनपयोगी थुप्रै कुरा सिक्न पाएको बताउनुभयो । उहाँले आफ्नो एक्लो प्रयासले नभएर सबै अग्रज र साथीहरुको साथ र सद्भावले आफ्नो कार्यकाल सफल बनेको बताउनुभयो ।
मेचीनगर लेडी जेसीजको यो ११ औं पद हस्तान्तरण कार्यक्रम हो । यसको संस्थापक अध्यक्ष कविता शर्मा हुनुहुन्छ ।
कार्यक्रमको प्रमुख अतिथि मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी हुनुहुन्थ्यो भने सो अवसरमा उपप्रमुख मीना उप्रेती, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, नेपाल जेसीजका पूर्व महासचिव भरत प्रसाई, पूर्व अध्यक्षीय क्लब झापाका अध्यक्ष रमेश पोखरेल, साहित्यकार भुवन सुब्बा, उपभोक्ता जागरण अभियान मेचीनगरकी अध्यक्ष रचना घिमिरे लगायत विभिन्न जेसीज शाखाका अध्यक्ष र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
गौतमलाई मानार्थ सदस्य
सोही अवसरमा मेचीनगर लेडी जेसीजले संस्थापक महासचिव प्रमिला गौतम खनाललाई संस्थाको मानार्थ सदस्य प्रदान गरिएको छ ।
खनाललाई मेचीनगर लेडी जेसीज स्थापना र जगेर्ना गर्नका लागि अतुलनीय योगदान दिए वापत मानार्थ सम्मान दिइएको हो ।
संस्थाले सीता गुरुङ र शान्ता सिटौलालाई सम्मान प्रदान गरेको छ ।
यसैगरी, संस्थापक अध्यक्ष कविता शर्माले आफ्ना ससुरा परशुराम भण्डारी र सासु सावित्रा भण्डारीको स्मृतिमा स्थापना गर्नु भएको परशुराम सावित्रा स्मृति अवार्ड जेसी इन्दिरा कार्कीलाई प्रदान गरिएको छ ।
संस्थाकी पूर्व अध्यक्ष टीका सुबेदीले आफ्नी आमा जयन्ती बरालको स्मृतिमा स्थापना गर्नु भएको जयन्ती बराल स्मृति अवार्ड जेसी सुनिता कोइरालालाई प्रदान गरिएको छ ।