२३ पुष २०८१, मङ्गलवार

चौरासीमा रुखबाहेक अरु चिह्नमा भोट हाल्नु पर्दैन : महामन्त्री शर्मा

२१ पुष २०८१, आइतवार
Image

झापा, २१ पुस  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको पाँच वर्ष टिक्ने प्रधानमन्त्री संविधान संशोधनको अबको प्राथमिकता रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ ले आज गृहनगर मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा बोल्दै उहाँले संविधान संशोधन गर्दा पार्टीले प्रधानमन्त्री वा राष्ट्रपति पद प्रत्यक्ष मतद्वारा निर्वाचित हुने व्यवस्था प्रस्ताव नगर्ने स्पष्ट पार्नुभयो ।

मुलुकमा राणा शासनपछि लगातार पाँच वर्ष कुनै पनि प्रधानमन्त्री नटिकेको चर्चा गर्दै मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्था नेपालमा आवश्यक नरहेको बताउनुभयो । 

“प्रधानमन्त्री पाँच वर्ष टिक्ने हुनुपर्यो भनिरहँदा,” महामन्त्री शर्माले आफ्नो प्रस्ताव सुनाउँदै भन्नुभयो–“जुन दल पपुलर मत र प्रत्यक्ष सिटतर्फ पहिलो हुन्छ, त्यही दलको संसदीय दलले छानेको नेता कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था संविधान संशोधनमा उल्लेख हुनुपर्छ ।”

लोकिप्रय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्ने र सत्तामा पुग्ने दलको संसदीय दलबाट प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत जित्ने व्यवस्था गरिनु पर्ने उहाँको धारणा थियो ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको उल्लेख गर्दै उहाँले एक पटक राष्ट्रपति र दुई पटक मात्र प्रधानमन्त्री बन्न पाउने संबैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । 

उहाँले नेपाली कांग्रेसको महाधिवेशन ०८४ को आम निर्वाचनभन्दा एक वर्ष अघि हुने र अहिले कांग्रेस महाधिवेशनको दिशामा गइसकेको बताउनुभयो । 

चौरासीको चुनावमा नेपाली कांग्रेस एक्लै चुनावमा होमिने बताउँदै उहाँले भन्नुभयो–“म यति चाहिँ ढुक्कले भन्न सक्छु कि चौरासीको चुनावमा नेपाली कांग्रेसका मतदाताले रुखबाहेक अरु चुनाव चिह्नमा भोट हाल्नु पर्दैन ।”