दूर्व्यवहार घटनाको फ्लोअप
दूर्व्यवहार घटनाको फ्लोअप
झापा, २७ पुस । मेचीनगर वडा नं. ९ मा वालिकालाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका इस्काभेटर चालक एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको सडकमा कार्यरत रहेको थाहा भएको छ ।
स्रोतका अनुसार विहीवार राति ११ बजे खुट्टिडाँगी सडक किनारमा पार्किङ गरेर राखिएको इस्काभेटरबाट अभिभावकहरुले १२ वर्षीया वालिकालाई उद्धार गरेका थिए ।
राति पिसाब फेर्न कोठाबाट बाहिर निस्किएकी वालिका अचानक हराएपछि अभिभावकहरु खोज्दै सडकतिर जाँदा इस्काभेटरको चालक सिटमा डरले काम्दै बसेको अवस्थामा वालिकालाई भेटेका थिए ।
स्रोतका अनुसार अभिभावकहरु खोज्दै आएपछि इस्काभेटरका चालक वालिकालाई गाडीमै छाडेर भागेका थिए । वालिकाले आफुलाई बोकेर इस्काभेटरमा पुर्याइएको प्रारम्भिक बयान दिएको स्रोतले जनाएको छ ।
एसियाली विकास बैंकको सहयोगमा मेचीनगर वडा नं. ९ मा हाल सडक निर्माण भइरहेको छ । उक्त सडकको निर्माण ठेक्का भारतीय (पटना) कम्पनीले पाएको छ । तर मूल ठेकेदारबाट स्थानीय निर्माण व्यवसायीले कामको खुद्रा ठेक्का लिएका छन् ।
हाल इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका इस्काभेटर चालक झापा वाहिरको भएको बुझिएको छ ।
घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोली अभियुक्तलाई नियन्त्रणमा लिन खुट्टिडाँगीस्थित निर्माण मजदूरहरु भाडामा बस्दै आएको घरमै पुगेको थियो ।
प्रहरीले वालिका र आरोपित इस्काभेटर चालक दुबैको स्वास्थ्य परीक्षण समेत गरिसकेको बुझिएको छ ।
स्थानीयबासीले घटना भित्रभित्रै मिलाउन प्रयास हुनसक्ने जनाउँदै घटनाको भरपर्दो अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कडा सजाय दिलाउनु पर्ने माग गरेका छन् ।
सडक निर्माणमा अपरिचित एवम् बाहिरिया कामदारहरुको संख्या ठूलो रहने गरेका कारण उनीहरुबाट स्थानीय वालिकाहरु असुरक्षित हुने अवस्था आउनुलाई स्थानीय पालिका र प्रशासनले समेत गम्भीर रुपमा लिनु पर्ने स्थानीयबासी बताउँछन् ।
प्रहरीको आधिकारिक निकायबाट भने ‘घटना थाहा नभएको’ स्थानीय पत्रकारहरुलाई बताउने गरिएको छ ।
यो पनि पढ्नुहोस् मेचीनगरमा वालिका दूर्व्यवहारको दुई घटनामा प्रिन्सिपल र चालक पक्राउ