झापा, ४ माघ । शिवसताक्षी नगरपालिका वडा नं. ७ लालझोडामा आगलागीबाट छ वर्षअघि एकै परिवारका चार जनाको मृत्यु भएपछि स्थानीयबासीमा ठूलो आक्रोश फैलिएको थियो ।
उक्त दर्दनाक आगलागीको घटना वि.संं. २०७५ मंसिर ९ गते राति भएको थियो । घटनापछि स्थानीयबासीको एउटै स्वर थियो–“नगरपालिका भन्या छ, एउटा पनि दमकल छैन ।”
वास्तवमै त्यसबेला शिवसताक्षी नगरपालिकामा दमकल थिएन । टाढाबाट दमकल आइपुग्न ढिलो भएको विषयले मिडिया र सामाजिक सञ्जालमा चर्चा पाउँदा नगरपालिका जनाक्रोशको शिकार बनेको थियो ।
वि.सं. २०७९ मा नवनिर्वाचित नगरप्रमुख मेगाहाङ थोप्राले दमकल किन्ने प्रस्तावलाई नगरपालिकाको पहिलो बोर्डको बैठकबाट निर्णय गराउनुभयो । उहाँकै अग्रसरतामा पालिकाले लगत्तै दमकल खरिद गर्यो । त्यसपछि आगलागीका घटनामा क्षति रोक्न दमकलको भूमिका सकारात्मक देखियो । दुई वर्षमा आगलागीका घटनामा शिवसताक्षीमा एक जनाको पनि ज्यान गएको छैन ।
समयमै दमकल पुग्ने र आगलागी निभाउने भएकाले मानवीय र भौतिक दुबै क्षति रोकिएको हो । पालिकाले दमकल सञ्चालनमा ल्याए यताको दुई वर्षमा पालिकाभित्र ७७ स्थानमा आगलागीका घटना भएका छन् । सबै घटनामा आगो निभाउन पालिकाको दमकल पुगेको देखिन्छ ।
आर्थिक वर्षमा २०८०/०८१ मा ४० स्थान र चालु आव २०८१/०८२ मा ३७ स्थानमा आगलागी नियन्त्रण गरेको शिवसताक्षी नगरपालिकाको दमकल टोलीको कमान्डर नवराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार शिवसताक्षीको दमकलले नगरभित्र नभई झापा जिल्ला र अन्य स्थानमा समेत आगलागी नियन्त्रणको काम गर्दै आएको छ ।
नगर प्रमुख थोप्राले नागरिकको जीउ धनको सुरक्षा पहिलो प्राथमिकता भएको हुँदा दमकललाई हरपल तयारीमा राखिएको र पर्याप्त साधन स्रोत उपलब्ध गराइएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले प्राकृतिक प्रकोप, आगलागी, दुर्घटना लगायतका घटनामा क्षति न्यूनीकरण गर्न पालिकाको दमकलले पुर्याएको सेवा प्रशंसायोग्य रहेको बताउनुभयो ।
यही पुस २० गते धार्मिक तथा पर्यटकीय क्षेत्रभित्र रहेको श्रीसताक्षीधाम गोवद्र्धन गौशालाको गाई गोठमा आगलागी भएको थियो । पालिकाको दमकल तुरुन्तै पुगेर आगो निभाएका कारण ठूलो क्षतिबाट बचेको गौशालाका अध्यक्ष आचार्य नन्दकिशार भारद्वाजले जानकारी दिनुभयो ।
दमकलको प्रभावकारिता देखेका शिवसताक्षीका नगरबासीहरु अहिले भन्न थालेका छन्–“छ वर्ष अघि आफ्नै दमकल थियो भने लालझोडामा एउटै परिवारका चार जनाले अकालमा मृत्युवरण गर्नु पर्ने थिएन ।”