५ माघ २०८१, शनिवार

झापा, तेह्रथुम र ताप्लेजुङमा शिविरबाटै १३ हजार अपांगता भएका व्यक्तिको पहिचान

५ माघ २०८१, शनिवार
Image

झापा, ५ माघ । करुणा फाउन्डेसन नेपालले स्थानीय तहको सहकार्यमा कोशी प्रदेशको झापा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा सञ्चालित दुई साता लामो वडास्तरीय स्वास्थ्य शिविरबाट १३ हजार ६५ जना अपांगता भएका व्यक्तिको पहिचान भएको जनाएको छ ।

झापासहित तीन जिल्लामा फाउन्डेसनले गत मङ्सिर १ देखि पुस १७ गतेसम्म २३४ वटा वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १८ हजार १३४ जना अपांगता भएका व्यक्तिहरु सहभागी भएकामाध्ये १३ हजार ६५ जनाको अपांगता पहिचान भएको फाउन्डेसनका कोशी प्रदेश व्यवस्थापक कमल कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार अपांगता पहिचान भएका व्यक्तिहरुमध्ये बालबालिका दुई हजार ११४ जना र वयस्क दश हजार ९५१ जना छन् । शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी कुन प्रकारको अपांगता भएको भन्ने विषयमा तत्कालै पहिचान गरेको थियो ।

अपांगता पहिचान भएकाहरुलाई शिविरमै स्थानीय तहहरुले अपांगताको परिचय पत्र प्रदान गरेका थिए । तीन जिल्लामा चार हजार ८३० जनाले शिविरबाटै नयाँ अपांगता परिचय पत्र प्राप्त गरेका थिए । जसमा सबैभन्दा बढी झापाका तीन हजार ३० जनाले अपांगताको परिचय पत्र पाएको कोइरालाले बताउनुभयो ।

शिविरमा पहिचान भएका ४१८ जना व्यक्ति नयाँ अपांगता परिचयपत्र प्राप्त गर्ने प्रक्रियामा रहेका छन् । जसमध्ये झापाका २९८ जना छन् । कोशी प्रदेशका १०७ वटा पालिकामा करुणा फाउन्डेसन नेपालले स्थानीय तहसँग मिलेर अपांगता भएका व्यक्तिहरुका लागि पहिचान, रोकथाम र पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । 

कार्यक्रममा फाउन्डेसन, स्थानीय पालिका र कोशी प्रदेश सरकारले त्रिपक्षीय समझदारी अनुरुप लागत साझेदारी गरेका छन् । समझदारी अनुसार तीन वर्षसम्म संयुक्त कार्यक्रम सञ्चालन हुने र त्यसपछि पालिकालाई कार्यक्रम हस्तान्तरण गरिने भनिएको छ । 

पहिलो चरणमा पहिचानका लागि स्वास्थ्य शिविर सम्पन्न गरिएको छ भने निकट भविष्यमा घरमा आधारित शिक्षा र विद्यालय भर्ना कार्यक्रम सञ्चालन गरिने बताइएको छ । स्वास्थ्य शिविरबाट अपांगता पहिचना भएकाहरुलाई सहायक सामग्री समेत प्रदान गरिएको थियो ।

आगामी दिनमा अपांगता भएका व्यक्तिहरुको जीविकोपार्जन, सशक्तिकरण, शिप विकास र सामाजिकीकरणका लागि समूह बनाएर बीऊ पूँजी उपलब्ध गराइने र स्वयम्सेविकामार्फत रोकथामका कार्यक्रम अघि बढाइने फाउन्डेसनका कोशी व्यवस्थापक कोइरालाले बताउनुभयो ।