९ माघ २०८१, बुधवार

मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्रे

६ माघ २०८१, आइतवार
Image

झापा, ६ माघ । मदन भण्डारी राजमार्गको पूर्वी खण्ड अन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म सडकको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने यसमा नेपाल सरकारको रु. सात अर्ब ९० करोड खर्च भइसकेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको बाहुनडाँगीदेखि धरानसम्मको ९५.८ किलोमिटर पूर्वी खण्डमा आर्थिक वर्ष २०७६/०७७ देखि निर्माण कार्य थालिएको हो ।

हालसम्ममा राजमार्गको सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएकोमा औसत ८० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो । विभिन्न चरणमा गरी उक्त निर्माणका लागि रु. १० अर्ब १३ करोडको ठेक्का लागेको थियो । जसमा ७८ प्रतिशत वित्तीय प्रगति भएको उहाँले बताउनुभयो ।

झापादेखि धरानसम्मको पूर्वी खण्डले झापा, इलाम, मोरङ र सुनसरी जिल्लालाई समेटेको छ । जसमध्ये ४१.६८ किलोमिटर सडकमा कालोपत्रे निर्माण भइसकेको छ । झापामा १२.९२ किमि, मोरङमा २०.६५ किमि, इलाममा २.३ किमि र सुनसरीमा ५.८१ किमि सडक कालोपत्रे भएको हो ।

सडकतर्फ सात वटा ठेक्का व्यवस्थापन भएकोमा एउटा ठेक्काको सडक निर्माण सम्पन्न भइसकेको छ भने छ वटा सडक अन्तिम चरणमा रहेका छन् । बिगत वर्षहरुमा ३१.६८ किमि सडक कालोपत्रे भएको थियो भने चालू आर्थिक वर्ष २०८१÷०८२ मा १० किमि सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । 

मदन भण्डारी राजमार्गको निर्माणका लागि बजेट अभाव नहोस् भनेर सरकारले चालू आवमा रु. ९१ करोड बजेट बिनियोजन भएकोमा रु. ३५ करोड ९६ लाख ठेक्काको बिलवापत खर्च भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

चालू आव २०८१÷०८२ मा १५ किलोमिटर थप सडक निर्माण गर्ने लक्ष्य रहेकोमा १०.६७ किमि सडक निर्माण भइसकेको कार्यालयका सूचना अधिकारी दत्तले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आवमा सडक निर्माणमा ६७ प्रतिशत लक्ष्य हासिल भइसकेको छ ।

पूर्वको झापादेखि पश्चिमको डडेल्धुरा जिल्ला जोड्ने यो राजमार्ग चुरे महाभारत क्षेत्रमा निर्माणाधीन छ । यसको कूल लम्बाई एक हजार २०० किलोमिटर रहेको छ । धरानदेखि हेटौडासम्मको ३०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने पूर्वी खण्डमा धमाधम कार्य भइरहेको छ । 

“बन क्षेत्रसँग सम्बिन्धत समस्या बाहेक यो खण्डमा निर्माण कार्य तीब्र गतिमा भइरहेको छ,” सूचना अधिकारी दत्तले भन्नुभयो–“बन क्षेत्रमा परेको सडकमा भोगाधिकारका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको हुँदा अब रुख कटान लगायतका काम छिटै सम्पन्न हुनेछन् ।”