झापा, ७ माघ । मेचीनगर–१० खयरडाँगीको चेतनशील सामुदायिक सिकाई केन्द्रले वालवालिकालाई दक्षिण इलामको सानिमा माई जलविद्युत परियोजनाको अवलोकन भ्रमण गराएको छ ।
अवलोकन भ्रमणमा केन्द्रमा आवद्ध ८० जना वालवालिका र समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पानीबाट विद्युत कसरी उत्पादन हुँदोरहेछ भनेर प्रत्यक्ष रुपमा देखाउन भ्रमण उपलब्धिमूलक भएको केन्द्रका उपाध्यक्ष धर्मेन्द्र खड्काले बताउनुभयो ।
सानिमा जलविद्युत परियोजना २२ मेगावाट क्षमताको रहेको छ । भ्रमणमा गएका बाल सदस्यहरु जलविद्युत परियोजना लगायत बाटोमा नयाँ स्थानहरुको अवलोकन गर्न पाउँदा हर्षित भएको चेतनशील सामुदायिक सिकाई केन्द्रकी परिचालक ममता न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार हाल जापानमा रहेकी संस्थाकी सदस्य जया आचार्यले आफ्ना स्वर्गीय पिता लोकप्रसाद आचार्यको स्मृतिमा रु. २० हजार संस्थालाई सहयोग गर्नु भएको छ ।
आचार्यले उक्त सहयोग रकम अवलोकन भ्रमणकै क्रममा सुखानीस्थित सहिद पार्कमा एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो । कार्यक्रममा स्व. लोकप्रसाद आचार्यको तस्वीरमा माल्र्यापणसहित श्रद्धाञ्जलि अर्पण गरिएको थियो । स्व. आचार्य संस्थाको संस्थापक अभिभावक हुनुहुन्थ्यो ।
भ्रमणमा संस्थाका अध्यक्ष उदय बराइली लगायत कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । संस्थाकी धनमाया गौतमले संयोजन गर्नु भएको कार्यक्रमको सहजिकरण धर्मेन्द्र खड्काले गर्नु भएको थियो ।