९ माघ २०८१, बुधवार

विर्तामोडपछि शिवसताक्षीद्वारा ‘मरेका माछा’ विक्रीमा प्रतिबन्ध

९ माघ २०८१, बुधवार
Image

झापा,  ९  माघ । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा विक्रीमा रोक लगाएको छ । कसैले विक्री गरेको पाइएमा कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

मरेका माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारण फर्मालिन नामक रसायन प्रयोग गरिएको जनगुनासो आएका कारण विक्री वितरणमा प्रतिबन्ध लगाउनु परेको नगरपालिकाकी उपप्रमुख एवम् अनुगमन समितिकी संयोजक नरमाया कार्कीले बताउनुभयो ।

“स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्नसक्ने हुँदा विक्रीमा प्रतिबन्ध लगाइएको हो,” उहाँले भन्नुभयो–“माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा विक्री वितरण नगर्नु भनेर व्यापारीहरुलाई समेत जानकारी गराइसकेका छौं ।”

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा विक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताउनुभयो ।

भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गरिएको व्यापक जनगुनासो आएको जनाउँदै उहाँले त्यसलाई रोक्न मरेका माछाको विक्रीमा प्रतिबन्ध लगाउनुको विकल्प नभएको बताउनुभयो ।

नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा विक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ । नगरपालिकाको निर्णयलाई जनसमक्ष पुर्याउन बजारमा माइकिङ र सामाजिक सञ्जालबाट व्यापक प्रचार प्रसार गरिएको छ ।

“हामीले मरेका माछा खरिद नगर्नु र विक्री भएको पाइएमा खबर गर्नु भनेर आम उपभोक्तालाई अपिल गरेका छौं,” प्रमुख प्रशासकीय अधिकृत तुम्वाहाम्फेले भन्नुभयो–“यस नियमलाई कसैले अटेर गरेमा नगरपालिकाले कडा कार्वाही गर्नेछ ।”

झापामा फर्मालिन रसायनको प्रयोग हुने मरेका माछाको विक्री वितरणमा रोक लगाउने पहिलो नगरपालिका विर्तामोड हो । पाँच वर्ष पहिलेदेखि नै विर्तामोड नगरपालिकाले जिउँदो माछा मात्र बेच्न पाइने नियम लागू गराउँदै आएको छ ।

विर्तामोडमा मरेका माछा बेचेको पाइएमा जफत गरेर खाल्डोमा पुर्ने गरिएको छ भने विक्री वितरणमा संलग्न व्यवसायीलाई जरिवाना समेत गरिदै आएको छ । 

झापामा माछापालन उत्साहजनक रहेको र स्थानीय उत्पादनले नै खपत धान्ने भएकाले भारतबाट आयातित मरेका माछाको विक्रीमा रोक लगाउनु पर्ने उपभोक्ताहरुले माग गर्दै आएका छन् । 

उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराईले फर्मालिन रसायनको प्रयोग मानव स्वास्थ्यका दृष्टिले अत्यन्त घातक भएकाले माछामा मात्र नभएर जुनसुकै खाद्य पदार्थमा यसको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले विर्तामोड र शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछाको विक्री वितरणलाई रोक लगाउन गरेको निर्णय स्वागतयोग्य रहेको जनाउँदै उपभोक्ता संस्थाका प्रतिनिधि र विज्ञको टोलीको सहयोगमा अनुमगन नगरे निर्णय कार्यान्वयन प्रभावकारी नहुने धारणा व्यक्त गर्नुभयो ।