विचार
विचार
युवाहरु विदेशिएकोमा आजकाल शहरिया वुद्धिजीवीहरु खुब चिन्ता गर्छन् । सार्वजनिक बहस, छलफल, लेख रचना, संवाद जताततै युवा विदेशिएकामा चिन्ता र चर्चा छ । किन युवा विदेशिए त भन्ने बारेमा धेरैले भन्ने गर्छन्– देश नै खत्तम् छ । यहाँ रोजगारीको कुनै सम्भावना नै छैन । काम नै छैन । काम गर्ने वातावरण नै छैन । जताततै अस्तव्यस्त छ । किन बस्ने यस्तो देशमा ?
झट्ट सुन्दा यो ठिकै हो कि जस्तो मान्ने धेरै छन् । त्यसैले धेरैलाई यस्तै लाग्न सक्छ । समाज कस्तो थियो, कसरी परिवर्तन भइरहेको छ ? विश्वको अवस्था के छ ? प्रविधिले समाजमा कस्तो प्रभाव पारिरहेको छ ? यस बारेमा अलिकति मनन् गर्ने हो भने हामीले चर्चा गर्ने गरेकोभन्दा फरक खालका दृश्यहरु देखिन्छन् भन्ने मलाई लाग्छ ।
जसको परिवारबाट युवा विदेशिएका छन् पीडा तिनलाई हुनुपर्ने हो । त्यस्ता परिवारमा परिवारको सदस्य विदेशिएकोमा पछुतो छैन बरु खुसी छाएको छ । जसको परिवारबाट विदेश जान सकेका छैनन् उनीहरु हरतरहले विदेश जान र पठाउन प्रयासरत छन् । त्यसरी विदेश गएकाले कमाएको पैसाबाट घर चलेको छ । देश चलेको छ । देशमा भएको व्यापार व्यवसाय चलेको छ । त्यसो भए दुःख किन त ?
घररिवारसँगै बसेर जीवन चलाउन पाइएन भन्ने गुनासो हुनसक्छ । त्यो बाहेक अरु कुरामा खासै दम देखिदैन ।
देशमा बसेकाहरु पनि सबैले घरै बसेर जागिर खाएका छैनन् । कामको खोजीमा निस्किएकाहरु सबैले घरपायक काम पाएका छैनन् । व्यापार गर्नेहरु सबैले घरमै बसेर व्यापार गरेका छैनन् । ताप्लेजुङ जिल्लाको कुनै गाउँको युवालाई काठमाडौ बसेर जागिर खानु वा व्यापार गर्नु र दुवई वा कतारमा बस्नुको फरक के हुन्छ ? संसारको जुनसुकै कुनामा भए पनि प्रविधिले परिवारसँग नजिक बनाएकै छ । यसले जिल्लाकै सदरमुकाममा हुनु, देशको राजधानीमा हुनु र विदेशको कुनै शहरमा हुनुमा कुनै फरक छैन । फरक पारेको छ आफ्नै जिल्लाको सदरमुकाममा मासिक बीस बाइस हजारको कमाई, देशको राजधानीमा मासिक तीस पैतीस हजारको कमाई र विदेशको शहरमा सरदर साठी हजार वा त्योभन्दा माथिको कमाईले हो ।
गाउँमा खेती गर्ने मानिस भएनन्, खेतबारी बाँझिए । गाउँमा युवा छैनन् मर्दापर्दा सहयोग गर्ने मानिस भएनन् भनिन्छ । गाउँ छाडेर सदरमुकाम गएको युवाले आफ्नो खर्च कटाएर मासिक दश हजार मात्रै घरमा पठाउन सकेछन् भने वर्षको एकलाख बीस हजार हुन्छ । त्यो पैसाले गाउँमै बसेर जति खाद्यान्न (अन्नबाली) उत्पादन गरिन्छ त्योभन्दा बढी हो । पहिला खानका लागि अन्न भए जसोतसो जीवन चल्थ्यो । पैसा थोरैले पुग्थ्यो । तर अहिले अन्न (खाद्यान्न) मात्रै भएर पुगेन । पैसाले किन्ने र पैसा चाहिने अवस्था विस्तारित भयो । पैसा नै चाहिने भयो । युवा पैसाको खोजीमा घर छाडेर बाहिर निस्कने चलन चल्यो । पहिला पनि लाहुर जाने लाहुरेसँग नियमित पैसा आउने भएकाले मानिस लाहुरे बन्न लालायित थिए । जागिर खानेसँग नियमित पैसा आउने भएकाले मानिस जागिरे हुन लालायित थिए । लाहुरे र जागिरेले घर छाडेरै पैसा कमाउने गरेका हुन् । उनीहरुको जीवन सहज भयो र समाजले सम्मानको नजरले हे¥यो, सम्मानित भए ।
नेपाली समाज २०४० को दशकमा कस्तो थियो भनेर हेरौं । एउटा जवान पुरुष श्रमिकले दिनभरि काम गरेर पाएको ज्यालाले सरदर तीन केजी मोटा उसिना चामल किन्न पाउने अवस्था थियो । अहिले त्यो लेभलको मोटा चामल त बजारमा पाइँदैन । अलि मसिनो नै हुन्छ । त्यसको मूल्य प्रति केजी सत्तरी रुपैयाँ मान्दा एक दिनको सरदर श्रमिकको ज्याला छ सय तीस मान्ने हो भने नौ केजी चामल किन्न पाइन्छ । यसरी हेर्दा खाद्यवस्तुको मूल्य जुन रफ्तारमा बढेको छ, त्योभन्दा रफ्तारमा श्रमिकको ज्यालामा बृद्धि भएको छ । यसको अर्थ आफ्नै खेतबारीमा काम गरेर गरिने उत्पादनभन्दा श्रम गरेर पाउने ज्यालाले जीवन सहज हुन थालेको छ । त्यसैले मानिस आफ्नो थातथलो र निर्वाहको कृषिबाट बाहिर आएर श्रम बजारमा पुगेका हुन् । यो क्रमले मानिसको जीवन हिजोको भन्दा आज सहज भएको छ ।
श्रम गर्ने मानिस आफ्नो श्रमको मूल्य जहाँ बढी पाउँछन् त्यही जान्छन् । यो स्वाभाविक प्रकृया हो । गाउँमा भन्दा शहरमा, राजधानीमा र विदेशमा श्रमको मूल्य बढी भएकाले युवा बढी मूल्यको खोजीमा गाउँ छाड्ने र देश छाड्ने भएको हो । जुन युवाले गाउँ छाडेका छन् ती गाउँ छाड्ने युवा र उनको परिवारको जीवन उकासिएको छ । जीवन सहज बनेको छ । समाजमा सम्मान बढेको छ । प्रतिष्ठा बढेको छ । त्यसैले घर छाडेर विदेशिएका परिवारमा विदेश जानुको पीडा खासै छैन । विभिन्न कारणले गाउँ छाड्न नसकेका युवाको पनि श्रमको मूल्य बढेको छ । गाउँमा श्रमिकको अभाव देखिन थालेको छ । त्यसैले गाउँमा बसेर श्रम गर्न चाहने युवाले मुखमागी ज्याला पाउने अवस्था बनेको छ । अलिकति शिप भएका युवाले गाउँमै बसेर दैनिक हजार कमाउन सक्ने भएका छन् । यसरी गाउँ छाडेर शहर पसेका, विदेश गएकाको मात्रै होइन गाउँमा भएका युृवाको पनि श्रमको मूल्य बढेको छ । यसरी श्रम गरेर आएको पैसाको सही सदुपयोग हुनेको जीवन विगतको भन्दा निकै राम्रो अवस्थाको छ ।
नेपाल चर्चामा सुनिने गरेको जस्तो एकदमै खत्तम भएको भए लाखौं भारतीयहरु नेपालमा आएर काम गर्ने थिएनन् । विभिन्न काम र पेशामा उनीहरुले राम्रै पकड जमाएका छन् । भारतमा गएर काम गर्ने, सानोतिनो व्यवसाय गर्ने नेपालीको सङ्ख्या पनि उल्लेख्य छ । यसलाई देश खत्तम भएको रुपमा बुझ्न आवश्यक छैन । ल, नेपाल त खत्तम भएछ र नेपाली भारतमा र विदेशमा गएर काम गर्न वाध्य भएछन् त्यसो भए भारतीयहरु यहाँ किन काम गर्न आएका त ? भारत योभन्दा खत्तम देश भएर हो ?
आफ्नो अनुकूल, योग्यता र क्षमता अनुसारको श्रम गर्न, शिप देखाउन र आयआर्जन गर्न मानिस संसारभरि नै यताउता गरिरहन्छन् । यसको भेउ नपाउनेहरुले नेपालीले देश छाडेकोमा धेरै रोइलो गरेको पाउँछु म ।
छिमेकी भारतको दक्षिणी राज्य केरला, तमिलनाडुमा उत्तर र उत्तर पूर्व भारतका धेरै मानिस त्यहाँ श्रम गर्न जान्छन् । त्यही हुलमा धेरै नेपाली श्रम गर्न त्यहाँ पुगेको पाएको छु । त्यहाँका तामिल र केरलाहरु झन् धेरै विदेश गएका छन् । त्यहाँका युवा उच्चस्तरको श्रम गर्न यूरोप, अमेरिका, क्यानडामा छन् । उनीहरुले छाडेको काम गर्न अन्यत्रबाट मानिस त्यहाँ जान्छन् ।
धेरै चिनियाँहरु विदेशमा छन् । अमेरिकाको न्यूयोर्कमा गाडीमा यात्रा गर्दा आधा घण्टाभन्दा बढी समय लाग्ने गरिको चाइना टाउन नै छ । भूटान सानो देश, थोरै जनसङ्ख्या सबैका लागि शिक्षा स्वास्थ्य निःशुल्क भएको देश । सबैका हातमा काम पुगेको देश । नेपालभन्दा निकै धेरै प्रतिव्यक्ति आम्दानी भएको देश । तर, धेरै भूटानी युवाहरु अस्ट्रेलिया र युृरोपमा छन् । पूर्वी यूरोपका धेरै युवा पश्चिम यूरोपमा कामका लागि बसाई सरेको पाइन्छ । पुरै यूरोपका धेरै देशका मानिस अमेरिका बस्न रुचाउँछन् ।
विदेश गएका नेपालीमा दुई प्रकारको प्रवृत्ति देखिएको छ । पहिलो, पढ्ने कमाउने र फर्कने । दोश्रो उतैको बसाई रोज्ने । अस्ट्रेलिया, क्यानडा, अमेरिका, यूरोप गएकाहरुले काम, पढाई, सिकाईसँगै उतैको बसाई रोज्ने गरेका छन् । ती सबै उतै बस्छन् भन्ने पनि छैन । जो ती देश गए तिनका परिवार खुसी नै छन् । जानेहरु खुसी भएरै गएका हुन् । यहाँ घर, गाउँ र विद्यालयमा गफ चुटेर ठालु पल्टेकाहरु त्यहाँ गएपछि श्रमको मूल्य चिन्ने र श्रम गर्ने भएका छन् । शिप सिकेका छन् । देशको महत्व बुझ्ने भएका छन् । परिवार, समाज, संस्कृति, आफ्नोपन आदिका बारेमा फरक छुट्याउने र बुझ्ने भएका छन् । समग्रमा देशलाई केही न केही योगदान गर्न योग्य भएका छन् । धेरथोर कमाएर पठाउने भएका छन् । उतै बसेकाले पनि घुम्न नेपाललाई रोज्न थालेका छन् ।
काम गर्ने र फर्कनेहरुले त निरन्तर पैसा पठाएर योगदान गरेका छन् । सीप सिकेर आएका छन् । यहाँ धेरथोर तिनै मध्येकाले उद्यम व्यवसाय गरेका छन् । यहाँ मासिक बीस हजार कमाउन हम्मेहम्मे भएकाले सरदर लाख कमाएर पठाएका छन् । समग्रमा जब परिवार खुसी छन्, जाने खुसी छन् भने यहाँ अरुले किन चिन्ता गर्नु । जहाँसम्म देश खत्तम भएर होइन यहाँभन्दा राम्रो कमाउने अवसर भएर गएका हुन् । राम्रो जीवनयापनको आधार देखेर गएका हुन् । प्रविधिको विकासले संसारलाई एउटा गाउँमा परिणत गर्दै गएको यो अवस्थामा जहाँ र जुन देशमा गएर पनि राम्रो र स्तरीय जीवनयापनको खोजी भएको छ । पचासको दशक अगाडिको नेपालको तुलनामा आजको नेपालमा गरीवी उल्लेख्य घटेको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, खाद्यान्न, आवास, कपडा आदिमा उल्लेख्य पहुँच पुगेको छ । यो सबैको आधार भनेको पचासको दशक पछि नेपालीले विदेशमा जाने अवसर पाएकाले हो ।
अर्को बीस तीस वर्षपछि, चालीस पचास वर्षपछि नेपाल घुम्न आउनेमध्येका धेरै नेपाली नै हुने सम्भावना देख्छु । तिनले विदेशीलाई पनि ल्याउन सघाउने छन् ।
विकसित देशमा जनसङ्ख्या वृद्धि ऋणात्मक भएसँगै कम विकसित मुलुकबाट विकसित मुलुकमा कामको खोजीमा विदेश जाने क्रम रोकिने छैन । बरु यसबाट केमा र कसरी फाइदा लिन सकिन्छ भनेर नीति बनाउनु पर्छ । हाम्रो जस्तै कम विकसित मुलुकमा पनि जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्था आउने सम्भावना देखिदैछ । यसले अब गुणस्तरीय जीवन सबैको रोजाई हुन्छ नै । त्यसका लागि जहाँ सहज हुन्छ मानिस त्यहाँ जाने क्रम रोकिने देखिदैन । बरु व्यवस्थित गरौं । गाली नगरौं र अनावश्यक चिन्ता पनि नगरौं ।