झापा, १५ माघ । प्रेस चौतारी खोटाङको अध्यक्षमा युवा पत्रकार एवम् लोकतन्त्रकर्मी राजन ठटाल सर्वसम्मत चयन हुनुभएको छ ।
दिक्तेलस्थित होटल शुभदिनमा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट उहाँ लगायत कार्य समिति सर्वसम्मत चयन भएको हो ।
ठटालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । उहाँले झापाको लोकतन्त्र पोस्टबाट पत्रकारिता सुरु गर्नु भएको हो ।
समितिको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सह–सचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन हुनुभएको छ ।
सदस्यमा टिवन राई, प्रमेश ढकाल, भुवन कटुवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशनमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पीके, पत्रकार महासंघ खोटाङका निवर्तमान अध्यक्ष दिलीप खत्री, पूर्वअध्यक्ष दमन राई र कोशी प्रदेश परिषद सदस्य केदार मगरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र राई, उषाकला राई, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सह–इन्चार्ज हरिबोल आचार्य, नेकपा एमाले जिल्ला अध्यक्ष देबविक्रम राई, कोशी प्रदेश समिति सचिवालय सदस्य विणादेबी राई, कोशी प्रदेश लेखा समिति सचिव ओमप्रकाश घिमिरे, वरिष्ठ पत्रकार कृष्ण आचार्य लगायतको उपस्थिति थियो ।