१७ माघ २०८१, बिहिवार

‘काठेपुल मुक्त’ बन्यो हल्दिबारी

१६ माघ २०८१, बुधवार
Image

झापा, १६ माघ । हल्दिबारी गाउँपालिकाले बिगत छ वर्षमा स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । वि।सं। २०७५ मा गाउँपालिकाले ‘काठेपुल मुक्त अभियान’ सुरु गरेको थियो ।

अभियानले सफलता पाएसँगै हल्दिबारीका सबै पुलपुलेसा पक्की बनेका हुन् । पालिकाका भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर संकल्प खनालले वि.सं. २०७५ यता १०० वटा पक्की पुल निर्माण भएको बताउनुभयो । 

उहाँले भुतेनी र भुसुडी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेको जनाउँदै अरु खोला खोल्साको पुल सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।

पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अब हल्दिबारीमा ज्यानको जोखिम मोलेर काठको पुल तर्नुपर्ने बर्षौदेखिको बाध्यता हटेको बताउनुभयो । “पहिलोपल्ट पालिकाको अध्यक्षमा निर्वाचित हुँदा हल्दिबारीका बसै पुल कच्ची र काठबाट निर्मित थिए,” उहाँ भन्नुहुन्छ–“पुल पार गर्दा काठ भाँचिएला कि भन्ने डर हुने र बाढीले बगाउला कि भन्ने त्रास बोक्नु पर्ने अवस्था थियो ।”

अध्यक्ष लिङ्देनले नै वि।सं। २०७५ मा ‘काठेपुल मुक्त अभियान’ घोषणा गर्नु भएको थियो । पालिकाले प्राथमिकतापूर्वक आवश्यक बजेट बिनियोजन गरेपछि धमाधम काठेपुल हटाएर पक्की पुल बनाउन थालिएको थियो ।

पाँच वटा वडा रहेको हल्दिबारीमा ३३ हजार जनसंख्या छ । सडक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाका लागि पालिकाले उच्च प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको अध्यक्ष लिङ्देन बताउनुहुन्छ । 

एक सय वटा पक्की पुल निर्माण गर्न रु. १० करोड खर्च भएको भौतिक पूर्वाधार तथा नापी शाखाका प्रमुख इन्जिनियर खनालले बताउनुभयो । यसैवर्षको फागुन ३० गतेसम्ममा भुतेनी र भुसुडी खोलाको निर्माणाधीन पुलको कार्य सम्पन्न भइसक्ने उहाँले जानकारी दिनुभयो ।

पालिकाले पुल र सडक निर्माणमा आन्तरिक स्रोतको परिचालन गर्दै आएको जनाएको छ । बिगत छ वर्षमा हल्दिबारीमा आन्तरिक स्रोतबाटै ३५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने पाँच किलोमिटर कालोपत्रे निर्माणको चरणमा रहेको खनालले बताउनुभयो ।