१७ माघ २०८१, बिहिवार

झापाका चार स्वास्थ्य संस्थालाई दुई करोडको अस्पताल सामग्री सहयोग

१६ माघ २०८१, बुधवार
Image

झापा, १६ माघ । अमेरिकी दातृ संस्था ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले झापाका चार वटा सरकारी स्वास्थ्य संस्थालाई रु. दुई करोड मूल्यका चिकित्सा सामग्री सहयोग गरेको छ ।

विर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको सामग्री सभामुख घिमिरेको उपस्थितिमा आज दातृ संस्थाले हस्तान्तरण गरेको हो ।

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’का नेपाल संयोजक जीवप्रसाद पोखरेलले सभामुख घिमिरेको पहलमा विर्तामोड नगर अस्पताललाई रु. ७० लाख मूल्य बराबरको चिकित्सा सामग्री आज हस्तान्तरण गरिएको बताउनुभयो । 

आजै अर्जुनधाराको खुदुनावारी स्वास्थ्य केन्द्रलाई रु. २७ लाख मूल्य बराबरको चिकित्सा सामग्री सभामुख घिमिरेकै उपस्थितिमा हस्तान्तरण गरिएको छ । झापा गाउँपालिकाको आधारभूत अस्पताल र कमल गाउँपालिकास्थित आयूर्वेद अस्पताललाई मंगलवार ‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ले चिकित्सा सामग्री प्रदान गरिसकेको छ ।

‘हेल्पिङ हेन्ड फर रिलिफ डेभलेपमेन्ट’ स्वास्थ्य र शिक्षाको क्षेत्रमा वि.सं. २०७२ सालको महाभूकम्पपछि राहत तथा विकास सहयोग प्रदान गर्दै आएको अमेरिकी दातृ संस्था हो । यसले ‘वर्क फर नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सो दातृ संस्थाको सहयोग वितरणको व्यवस्थापनको कार्य गर्दै आएको संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीले बताउनुभयो । 

विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले इसीजी, शल्यक्रिया, ओपीडी, बर्थिङ लगायतका कार्यमा प्रयोग हुने १३६ प्रकारका महत्त्वपूर्ण चिकित्सा सामग्री आज प्राप्त भएको बताउनुभयो ।