धुलावारी,१८माघ।मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुली बत्ती निःशुल्क जडान गरिदिएको छ ।
वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रूपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताउनुभयो ।
उहाँल वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताउनुभयो ।
उहाँल भन्नुभयो ‘स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौँ ।’
आर्थिक अवस्थाका कारण खानेपानीको धारा जडान गर्न नसकेका ३० घरपरिवारको वडाले निःशुल्क रूपमा धारा जडान गरिरहेको वडाध्यक्ष बरालले बताउनुभयो ।
प्रतिघरमा दश हजार ५०० रुपैयाँ खर्च गरेर धारा जडान गर्ने काम भइरहेको उहाँको भनाइ छ । दुई वर्षअघि निर्वाचित बनेर आएका जनप्रतिनिधिको पहलमा वडाका सबै स्थानमा खानेपानी र बिजुलीबत्तीको पहुँच पुगेको छ ।
शंकर टोलकी ६१ वर्षीया बुद्धमाया दर्जीले भन्नुभयो, ‘वडाध्यक्ष हाम्रो भगवान् जस्तै बनेर आउनुभएको छ, घर चुहियो भने टिन फेरिदिनुहुन्छ, पानीको धारा र बत्ती पनि निःशुल्क दिनुभयो ।’
अध्यक्ष बरालले वडामा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले पाउँदै आएको सुरक्षाभत्ता समेत घरघरमा पुर्याइदिने व्यवस्था मिलाइदिएको बताउनुभयो ।