स्वास्थ्य
स्वास्थ्य
झापा, २० माघ । यति एयरलायन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने शनिवार सम्झौता भएको छ ।
निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा एयरलायन्सको प्रमुख व्यापार अधिकृत युवराज बिष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईले हस्ताक्षर गर्नु भएको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका विरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यति एयरलायन्सका उपप्रबन्धक बिमल बिष्टले जानकारी दिनुभयो ।
झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल वि.सं. २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको १०० शैयाको सुविधासम्पन्न अस्पताल हो ।
जहाँ क्यान्सरका विरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरी लगायतका उपचार प्रविधि र सुविधा उपलब्ध रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवले बताउनुभयो ।
निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका विरामीलाई राहत मिल्ने र पेटसिटी लगायतका उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत धाउनु पर्ने बाध्यताबाट देशभरका विरामीको बाध्यता हट्ने उहाँको भनाई छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्नका लागि क्यान्सर संक्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको बताउनुभयो ।
“देशको जुनसुकै भागबाट उपचार लिन आउने विरामीले यो सुविधा लिन सक्नुहुन्छ,” उहाँले भन्नुभयो–“तर, सुविधा पाउनका लागि क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चित चाहिँ हुनुपर्दछ ।” विरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उहाँले बताउनुभयो ।
बिगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा छ हजार ४८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिनुभयो । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका कयौ नेपालीले क्यान्सरको उपचार पाउनबाट अझै बञ्चित हुनुपरेको उहाँको भनाई छ ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको संख्या वर्षेनी बढिरहेको उहाँले बताउनुभयो ।
बिगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना र फोक्सो क्यान्सरका ८०५ जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. यादवले जानकारी दिनुभयो । पाठेघरको क्यान्सर र नाक कान घाँटीको क्यान्सरका बिरामीको संख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।
गम्भीर प्रकृतिका विरामीलाई उपचार खर्चमा सहुलियत पुर्याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुशी तुल्याएको मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ का टिकाराम शिवाकोटीले बताउनुभयो ।
शिवाकोटीले बिगत चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार सोही अस्पतालमा गराइरहनु भएको छ । बिरामीलाई अस्पताल लैजान र घर ल्याउन रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।
“हुनेखानेका लागि अस्पताल जान सवारी साधनको कठिनाइ नहोला, तर गरीव परिवारका लागि खर्चकै अभावले बेलैमा अस्पताल पुग्न कठिन हुनसक्छ,” शिवाकोटी भन्नुहुन्छ– “विपन्न र असहाय बिरामीका लागि अस्पतालले यातायात र औषधोपचारमा सहुलियत गरिदिनै पर्छ ।”
पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरीव परिवारले नेपाल सरकारको विपन्नता नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत रु. एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारले विपन्न विरामीका लागि अलग्गै रु. दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको उल्लेख गर्दै गिरीले लुम्बिनी प्रदेशका बासिन्दाका लागि मात्र उक्त सुविधा लागू हुने बताउनुभयो ।