झापा, २७ माघ । मेचीनगर र भद्रपुरलाई जोड्ने हडिया नदीमा पक्की पुल बन्ने भएको छ ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सुनिश्चित भएको बताउनुभयो ।
उहाँले रु. ३३ करोड ३६ लाख ९९ हजारको लागतमा पुल निर्माण हुने र चालू आर्थिक वर्ष २०८१/०८२ मै यसको ठेक्का लगाइने बताउनुभयो ।
धुलाबारीबाट भद्रपुर जोड्ने सडकमा रहेको हडिया नदीमा दुई दशक अघि बनेको पुल साँघुरो र जीर्ण अवस्थामा छ । गत वर्ष पश्चिमी कर्नरमा पुल भ्वाङ परेर भासिएको थियो । केही साता सवारी आवागमन समेत अवरुद्ध भएपछि हाल बालुवा ढुंगाले भ्वाङ पुरिएपछि पुल कामचलाउ अवस्थामा छ ।
“हडिया नदीको पुल बन्ने निश्चित भयो,” नगरप्रमुख गोपाल बुढाथोकीले भन्नुभयो–“अर्थमन्त्रालयले बहुवर्षीय स्रोत सुनिश्चित गरेको छ । सहरी विकास मन्त्रालयलाई अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिएको पत्र समेत पठाइसकेको छ ।”
स्थानीय स्तरका सडक, पुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्तर्गत इटहरीस्थित कार्यालयले पुल निर्माणको छिट्टै ठेक्का लगाउने बुढाथोकीले बताउनुभयो ।
यही पुस २९ गते अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयमार्फत उक्त पुलको स्रोत सुनिश्चित गरेको र सहरी विकास मन्त्रालयले स्रोत सुनिश्चित गरिदिन गत कार्तिक ३० गते अर्थमन्त्रालयमा पत्र पठाएको उहाँले जानकारी दिनुभयो ।
परियोजना अन्तर्गतको इटहरीस्थित कार्यालयले पुलको निर्माण आयोजना सञ्चालन गर्ने बताइएको छ । वहुवर्षीय परियोजना भएकाले पहिलो वर्ष रु. ८५ लाख, दोसो वर्ष रु. १६ करोड ६८ लाख ४९ हजार र तेस्रो वर्ष रु. १५ करोड ८३ लाख ४९ हजार बजेट बिनियोजन हुने नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।
पुल निर्माणमा बजेट सुनिश्चित गरिदिएकोमा नगरप्रमुख बुढाथोकीले संघीय सरकारप्रति आभार व्यक्त गर्दै उक्त पुलको निर्माणपछि धुलाबारी–भद्रपुर सडकको महत्त्व झनै बढ्ने बताउनुभयो ।