१० फागुन २०८१, शनिवार

भद्रपुर झापा गोल्डकप

पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी

७ फागुन २०८१, बुधवार
Image

झापा, ७ फागुन । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेल आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।

मेची रंगशाला आजदेखि सुरु भएको प्रतियोगिता ‘सौर्य एअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण’को रुपमा सञ्चालन भइरहेको छ । 

उद्घाटन खेलमा पाहुना टोली दार्जीलिङ पुलिसलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जीलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याए ।

खेलको अधिकांश समय दार्जीलिङले विपक्षी भद्रपुरमाथि खासै मुभ बनाउन सकेन । टेक्निकल खेल प्रदर्शन गरेको दार्जीलिङले दोस्रो हाफमा दबाब दिए पनि पहिलो खेलबाटै घर फर्कियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं भए । उनले नगद २१ हजारसहित ट्रफी पाए । उनलाई सौजन्यकर्ता चण्डीराज पराजुलीको परिवारले पुरस्कार प्रदान गर्यो ।

बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी दिए ।

मोफसलकै प्रतिष्ठित र लोकप्रिय प्रतियोगिता भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर रहेका छन् ।

भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् । गोल्डकपको उद्घाटन राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उनले प्रतियोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।