२७ फागुन २०८१, मङ्गलवार

प्रवास खबर

बेलायतका राजदूतसँग गोर्खा मेमोरियल फन्डको टोलीको भेटघाट

२१ फागुन २०८१, बुधवार
Image

झापा, २१ फागुन । बेलायतस्थित गोर्खा मेमोरियल फन्डको प्रतिनिधिमण्डलले बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग आज औपचारिक भेट गरेको छ । 

भेटघाटका क्रममा बेलायतमा रहेका नेपाली समुदाय र गोर्खा मेमोरियल फन्ड युकेले गरिरहेका सहयोग परियोजनाका बारेमा कुराकानी भएको गोर्खा मेमोरियल फन्ड युकेका अध्यक्ष धनकिरण गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

अध्यक्ष गुरुङको नेतृत्वमा फन्डका ट्रस्टी रे जन्सन सहितको टोलीले राजदूत घिमिरेलाई लन्डनस्थित दूतावासमै पुगेर भेट गरेको फन्डकी उपाध्यक्ष अल्का गुरुङले जानकारी दिनुभयो । 

भेटमा गोर्खा मेमोरियल फन्डका अध्यक्ष गुरुङले राजदुत घिमिरेलाई फन्डले नेपालमा सञ्चालन गरेको सहयोग परियोजनाका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । 

फन्डमार्फत मेचीनगरका ग्रामीण विद्यालयमा कम्प्युटर टेक्नोलोजी शिक्षाको स्थापना गर्ने कार्यमा सहयोग गरिएको उकत अवसरमा राजदूतलाई अवगत गराइएको थियो । फन्डले नेपाली समुदायमा स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको जनाउँदै अध्यक्ष गुरुङले गोर्खा मेमोरियल फाउन्डेसन नेपालसँगको सहकार्यमा छैठौं संस्करणको कम्प्युटर प्रविधि परियोजनाको लागि कोष संकलन भइरहेको जानकारी दिनु भएको थियो । 

राजदूतसँगको भेटमा अध्यक्ष गुरुङले राजदूतलाई अक्टोबर ५ मा गार्डेन अफ रिमेम्बरेन्समा आयोजना हुने गोर्खा मेमोरियल फन्ड युकेको १०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन निमन्त्रणा समेत दिनु भएको थियो । 

मेचीनगर र फोक्सटन टाउनबीच मितेरी सम्बन्ध स्थापना गर्न योगदान गरेका अध्यक्ष गुरुङले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताउनु भएको थियो ।  

भेटकै अवसरमा गोर्खा मेमोरियल फन्डका परियोजना संयोजक रे जोन्सनले दुई देशको सहयोग, शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाउन पहल भइरहेको बताउनु भयो । 

गोर्खा मेमोरियल फन्ड युकेका अध्यक्ष गुरुङ फाक्स्टन सिटीका पूर्व काउन्सिलर हुनुहुन्छ । उहाँ नेपाली समुदायबाट निर्वाचित पहिलो काउन्सिलर हो । अध्यक्ष गुरुङकै नेतृत्वमा बेलायतमा गोर्खा सैनिकको सानदार सालिक स्थापना भएको छ । 

भेटमा राजदुत घिमिरेलेले टोलीलाई स्वागत गर्दै आवश्यक सहयोग र सहकार्य गर्ने बताउनु भएको अध्यक्ष गुरुङद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 


लेखकको बारेमा
Image
सन्तोष आचार्य

मेचीनगर निवासी पत्रकार सन्तोष आचार्य विचार मञ्ज अनलाइनका सम्पादक पनि हुनुहुन्छ ।