झापा, २४ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आर्थिक विकासका लागि विदेशमा रहेका नेपालीको लगानी भित्राउने वातावरण बनाउन सरकारलाई आग्रह गर्नु भएको छ ।
उहाँले पार्टीको पूर्व आप्रवास समन्वय विभागले आज विर्तामोडमा आयोजना गरेको ‘स्वदेशदेखि विदेशसम्म’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै लगानीमैत्री वातावरण बनाउन सके मुलुकमा समृद्धि टाढा नरहेको बताउनु भएको हो ।
“हाइड्रोपावर, कृषि उत्पादन, जडिबुटी, पर्यटन प्रवर्धन जस्ता क्षेत्रमा लगानी गरेर आयस्तर बढाउन सकिन्छ,” उहाँले भन्नुभयो– “यसका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ ।”
विदेश जाने नेपालीहरुलाई अदक्ष, दक्ष र अध्ययन गरी तीन प्रकारमा बाँड्नु पर्ने धारणा राख्दै उहाँले देश विकासका लागि विदेशमा सिकेको शिप र आर्जेको पैसा स्वदेशमा लगानी गर्ने उत्साहजनक वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जनतामा चुलिएको निराशा अन्त्य गर्ने अवसर नेपाली कांग्रेस र नेकपा एमालेलाई प्राप्त भएको चर्चा गर्नु भएको थियो ।
उहाँले विश्वमा अर्थतन्त्रको मोडल फेरिएको उल्लेख गर्दै उत्पादन गर्नेले भन्दा डिजाइन र बजारीकरण गर्नेले बढी मुनाफा आर्जन गरिरहेका बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु बलबहादुर केसी, सरिता प्रसाई, राजीव कोइराला, सुशिला ढकाल आचार्य, डा. गोविन्द पोखरेल, गोमा भट्टराई, दिनेश कोइराला लगायतका वक्ताहरुले विदेशमा रहेका नेपालीलाई स्वदेशमै शीप र श्रमको सदुपयोग गर्ने नयाँ नीति र कार्यक्रमको खाँचो औल्याउनु भएको थियो ।
दुईदिनसम्म सञ्चालन हुने अन्तरक्रियामा कोशी प्रदेशभरीका लगभग एकसय जना प्रतिनिधिको सहभागिता रहेको विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईले बताउनुभयो । कार्यक्रममा पूर्व आप्रबासीहरुको तथ्यांक संकलन, उनीहरुमा रहेको सीप र क्षमताको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक छलफल हुने र छलफलमा उठेका विषयवस्तुको दस्तावेज बनाएर पार्टी केन्द्रीय समितिमा बुझाइने उहाँले जानकारी दिनुभएको थियो ।