२७ फागुन २०८१, मङ्गलवार

‘महाराज, आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्’

२५ फागुन २०८१, आइतवार
Image

नेकपा एमालेका जननेता मदन भण्डारीले २०४७ चैत ५ गते काठमाडौंको खुलामञ्चमा दिनु भएको भाषण बहुचर्चित भएको थियो । त्यसबेला पञ्चायती तानाशाही व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएको भर्खर एक वर्ष पूरा भएको थियो । राजा वीरेन्द्र संबैधानिक रुपमा सिंहासनमै थिए । उनलाई उक्साएर नयाँ संविधान बनाउन अवरोध पुर्याउने भित्री षडयन्त्र भइरहेको थियो राजाबादीहरुबाट । जनान्दोलनलाई दमन गर्न सेना समेत उतार्ने पञ्चायती शासकहरुलाई नयाँ सत्ताले कुनै कार्वाही चलाएको थिएन । 

२०४७ सालमा राजालाई संबैधानिक सम्मान दिएर प्रजातान्त्रिक संविधान जारी भयो । आफुलाई संबैधानिक राजाको रुपमा सम्मान लिएर बस्न र शासनसत्ता जनतामा हस्तान्तरण गर्न राजी भए राजा वीरेन्द्र । तर, २०५८ जेठ १९ गते शुक्रबार राती उनको हत्या भयो, कोतपर्व शैलीमा । नारायणहिटी दरवार हत्याकाण्ड हुँदा पोखरामा रहेका व्यापारी पृष्ठभूमिका राजपरिवार सदस्य ज्ञानेन्द्र शाहलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अग्रसरतामा राजनीतिक सहमति बनाएर नयाँ राजा बनाइयो । तर, ज्ञानेन्द्रले छिटै व्यहोरा देखाइहाले । जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणा गरेर सेनाको बुट बजार्दै ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते सत्ता मुठ्ठीमा लिए ।

जनभावना अनुसार चल्छु भन्ने आफ्नै परम्परा र वीरेन्द्रले स्वीकार गरेको संबैधानिक राजतन्त्रको अवधारणा विपरीत ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि २०६२/०६३ सालमा माओबादी विद्रोहीको समेत सहकार्यमा अभूतपूर्व जनान्दोलन भयो । जसले राजतन्त्रको अवशेषलाई इतिहासको पानामा सीमित तुल्याइदियो । तानाशाह बन्ने सपना देखेका ज्ञानेन्द्रले भिजेको मुसो बनेर नारायणहिटी छाड्नु पर्यो । गणतन्त्रको उदय भयो । गणतन्त्र आउनुमा ज्ञानेन्द्रको आफ्नै व्यहोरा पनि जिम्मेवार छ । 

गणतन्त्र आइसकेपछि पनि जनताले पूर्व राष्ट्राध्यक्ष (नागरिक)को रुपमा ज्ञानेन्द्र शाहलाई उच्च सम्मान दिएकै थिए । तर, यो सम्मान अहिले आएर अपच भएको भान हुँदैछ । पूर्वराजा वीरेन्द्र शाहको बंशसंहारपछि राजा बनेका ज्ञानेन्द्र शाहले आजको युगका सचेत नेपाली जनताबाट पाउने अबको सजाय अकल्पनीय पनि हुनसक्छ । नेपालमा अराजकता मच्चाएर नेपाली सार्वभौमसत्तालाई रिमोटमा चलाउन चाहने उत्तर प्रदेशवाला छिमेकी, नयाँ केशरजंग रायमाझी पथमा पतन भएका अभियन्ता र जनताको मत जित्न असफल पञ्चायती शासनको धङ्धङीवाला दलको उक्साहटमा लोकतन्त्रविरुद्ध सडकमा हर्कत भयो भने राजा बन्न रहर गर्नेहरुले देशमा बस्ने ठाउँ पनि नपाउन सक्छन् । 

नागरिकलाई रैती बनाउन खोज्ने प्रतिगामी हर्कत कुनै हालतमा स्वीकार्य छैन । जनताले एउटा नेता मन नपरे अर्को नेता चुन्छन् । लोकतन्त्रको विकल्प सुधारिएको लोकतन्त्र नै हुन्छ, राजतन्त्र हुनै सक्दैन । प्रस्तुत छ–जननेता मदन भण्डारीले राजा वीरेन्द्रलाई लक्षित गरेर ३४ वर्ष अघि दिएएको भाषणको अंश । यो भाषण ज्ञानेन्द्र शाह र उनलाई राजा बनाउँछु भनेर तम्सिनेहरुलाई सच्चिने पाठ हुनसक्छ भनेर प्रकाशित गरेका हौं ।–सम्पादक 

.............     ............      ............

यस्तो छ मदन भण्डारीको भाषण-

''हामीले त यो भनेका छौं जुन त्रिपक्षीय (बाम मोर्चा, नेपाली कांग्रेस र राजा) सम्झौता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन् । राजा मान–सम्मान पाएर बसिरहुन् । यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिस्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्– यिनीहरू त राजावादी भए ।

अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति–सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं, हामी राजावादी होइनौं ।

नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले, कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन, राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन । राजालाई मान्नु बाध्यता हो । अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन । तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध, पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ ? कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीप्रति के धारणा छ ?

अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न गर्यो भन्ने पनि त मनमा लाग्ला । किन ? हामी दुईवटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू, राजा एउटा शक्ति (२०४६ साल अघिको शक्ति भनेको हो) हो र कम्युनिस्ट अर्को शक्ति हो । अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस् । त्यसो हुँदा यो पारस्परिक सवाल हो ।

अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन् । सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन् । धेरै त उनले समाप्त पनि पारे र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस् । चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो ।

तर पनि दुनियाँलाई थाहा छ कि २०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुपर्यो, त्यो अरू कसैको आदेशले होइन, त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले ।

त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झौता गर्न आउनुपर्यो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्यो ।

त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन । तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो कि हामीले यसबेला राजासँग सम्झौता गर्नुपर्यो र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिए, भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं ।

मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज । हात नलम्काइबक्स्योस् । आँखा नचम्काइबक्स्योस् । आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् । र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।

यसो भएको हुनाले यो त बाध्यताको कुरा हो र यदि अघि मैले अनुरोध गरें, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिस्ट मान्छु र ? यसो हुनाले यो पारस्परिक कुरा हो ।''