झापा, ८ चैत । प्रेस चौतारी नेपालको महाधिवेशन नजिकिदै जाँदा नेतृत्वको आकांक्षीहरुको चर्चा सुरु भइसकेको छ ।
अग्रज पत्रकार चेतन अधिकारी महासचिवको आकांक्षी रहनु भएको छ । उहाँले प्रेस चौतारीको केन्द्रीय कमिटी र पार्टीको प्रचार विभागमा मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजकको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।
विराटनगरमा यही चैत १०, ११ र १२ गते चौतारीको दशौं महाधिवेशन आयोजना हुँदैछ । यसअघिको नवौं महाधिवेशनमा उहाँ महासचिवकै दावेदार हुनुहुन्थ्यो । तर सहमतिमा हिरा लामा महासचिव निर्विरोध हुनु भएको थियो ।
कान्तिपुर दैनिकको सम्पादकीय टिममा रहेर व्यावसायिक पत्रकारिताको अब्बल अभ्यास गरिसक्नु भएको उहाँ हाल योबेला अनलाइनको सम्पादक हुनुहुन्छ । जनसंख्या विषयका स्नातकोत्तर अधिकारी पत्रकारिताका अनुभवी र सिद्धहस्त प्रतिभा हुनुहुन्छ । उहाँ निर्विरोध महासचिव निर्वाचित हुने सम्भावना छ ।