खानेपानी चुनाव
खानेपानी चुनाव
झापा, १७ चैत । बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा हेमलाल गुरागाई निर्वाचित हुनुभएको छ।
शनिवार भएको चुनावमा गुरागाईले ४३२ मत र उहाँको निकटतम् प्रतिष्पर्धी पासाङ तामाङले ३१५ मात्र प्राप्त गर्नु भयो ।
अध्यक्ष पदका अर्का प्रत्यासी मेघराज खड्काले १८५ मत प्राप्त गर्नु भएको थियो ।
चुनावमा प्रमुख राजनीतिक दलहरुबीच प्रतिष्पर्धा भएको थियो । चुनावमा मिश्रित परिणााम आएको छ । राप्रपा र लिम्बुवान दलसँग गठबन्धन गरेर नेपाली कांग्रेसले अध्यक्ष पदमा गुरागाईलाई चुनावी मैदानमा उतारेको थियो ।
तर, नेकपा एमाले र नेकपा माओबादी केन्द्र आफ्ना आफ्ना उम्मेद्वार खडा गरेर आपसमै भिडेका थिए । एमालेले तामाङ र माओबादीले खड्कालाई अध्यक्षको उम्मेद्वार बनाएको थियो ।
एमाले र माओबादी मिलेर चुनावमा गएको भए अहिले तामाङ र खड्काले पाएको मत जोड्दा ५०० मत हुन्छ । यो संख्या नेपाली कांग्रेसका उम्मेद्वार गुरागाईले अहिले पाएको भन्दा ६८ मत बढी हो ।
एमाले ‘जितिहालिन्छ नि’ भन्ने ‘अति आशाबादी’ र माओबादी ‘एमालेलाई किन पद दिने’ भन्ने ‘अति आग्रही’ बनिदिदा एमाले र माओबादीबीच चुनावी तालमेल हुन नसकेको बताइन्छ ।
उपाध्यक्षमा सागर कार्की ५८२ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने सोही पदका अर्का उम्मेद्वार पुष्कर घिमिरेले २२५ मत पाउनु भयो ।
सचिवमा ३५५ मत ल्याएर सन्तोष सुवेदी निर्वाचित हुनुभयो भने प्रतिष्पर्धी राजन कार्कीले ३२५ र गोपाल बायलीले १५३ मत प्राप्त गनु भएको थियो । कोषाध्यक्षमा पूर्णिमा कट्टेल ३९४ मत ल्याएर निर्वाचित हुनुभयो भने प्रतिष्पर्धी उम्मेद्वार पुष्पकुमार बिष्टले २४४ मत प्राप्त गर्नुभयो ।
सहसचिवमा ३९४ मत पाएर राजन न्यौपाने निर्वाचित हुनुभयो । निकटतम् प्रतिष्पर्धी सुरेश घिमिरेले २८८ मत प्राप्त गर्नुभयो ।
खुला महिला सदस्यमा राधा नेपाल र उमा राउत निर्वाचित हुनु भएको छ । पुरुषतर्फ खुला सदस्यमा युवराज पौडेल र चन्द्रलाल ढुङ्गाना निर्वाचित हुनु भएको छ ।
निर्वाचन समितिका अनुसार निर्वाचनमा एक हजार ३२७ मतदाता थिए । जसमध्ये एक हजार नौ मत खसेको थियो ।