झापा, १८ चैत । कृषि सामग्री कम्पनी विर्तामोडले चालू आर्थिक वर्ष २०८१/०८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई विक्री गरेको छ ।
झापामा कृषियोग्य जमिन धेरै भएको र एकै सिजनमा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दिपक कुमार राजबंशीले बताउनुभयो ।
उहाँका अनुसार चालू आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिक टन मल मौज्दात रहेको छ ।
झापाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिक टन यूरिया, पाँच हजार १४ मेट्रिक टन डीएपी र चार सय ८५ मेट्रिक टन पोटास मल विक्री गरिसकेको कम्पनीले जनाएको छ ।
जिल्लामा चालू आवका लागि ११ हजार मेट्रिक टन यूरिया, छ हजार मेट्रिक टन डीएपी र पाँच सय मेट्रिक टन पोटास मल आएको थियो ।
किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएको कारण बैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजबंशीले बताउनुभयो ।
“माग धान्ने गरी हामीसँग रासायनिक मल छैन,” प्रमुख राजबंशीले भन्नुभयो– “स्टक राखिएको मल पनि सकिन लाग्यो । बैशाखसम्म धान्न सक्छ ।” थप रासायनिक मल बैशाखमा मात्र आउने बताइएको छ ।
चालु आर्थिक बर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी विक्री भइरहेको देखिएको उहाँले बताउनुभयो । उहाँले अब चार हजार मेट्रिक टन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिनुभयो ।
उहाँले जिल्लामा अन्य मलको तुलनामा यूरिया मलको माग ह्वात्तै बढेको बताउनुभयो । यतिबेला झापामा चैत धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकिछिपी ल्याउने गरेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ ।