१९ चैत २०८१, बुधवार

पूर्वराजासँग भएका पुराना पाँच सहमतिको प्रधानमन्त्रीद्वारा खुलासा

१७ चैत २०८१, सोमवार
Image

झापा, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको नारायणहिटी वहिर्गमनका बेला भएको पाँच वटा सहमति बारे आज प्रतिनिधिसभामा खुलासा गर्नु भएको छ ।

प्रतिनिधिसभामा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले पूर्वराजा शाह चैत १५ गतेको राजाबादी विध्वंशका लागि पूर्ण जिम्मेवार भएको बताउँदै उसबेलाको सहमति सुनाउनु भएको हो ।

पहिलो संविधानसभाले २०६५ जेठ १५ गते शाहबंशीय राजतन्त्रको अन्त्य गरेको थियो । त्यसपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको आग्रहमा नारायणहिटी दरबार शान्तिपूर्ण रुपमा छाड्नु भएको थियो ।

ओलीका अनुसार पूर्वराजासँग भएका पाँच वटा सहमतिमध्ये पहिलो थियो–नागरिकको हैसियतमा शान्त जीवन बिताउने । दोस्रो थियो–नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार व्यवसाय सञ्चालन गर्ने । तेस्रो थियो–पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने । चौथो थियो–नागार्जुन दरबार प्रयोग गर्न दिने । पाँचौ थियो- उहाँको माताले प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग त्यसबेला सरकारको तर्फबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वार्ता र सहमति गर्नु भएको थियो । ओलीले हाल राष्ट्रिय सभा सदस्य रहनु भएको सिटौलाले सरकारको तर्फबाट पूर्वराजा ज्ञानेन्द्रसँग संवाद र व्यवस्थापन गरेको समेत स्मरण गर्नुभयो ।

ओलीले त्यसबेला भएको सहमति पूर्वराजाले अहिले उल्लंघन गरेको समेत बताउनुभयो ।