१९ चैत २०८१, बुधवार

मेचीनगरमा आदिवासी जनजातिद्वारा तेस्रो सांस्कृतिक महोत्सव गर्दै

१७ चैत २०८१, सोमवार
Image

मेचीनगर, १८ चैत । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषदले आगामी चैत २७ गतेदेखि काँकरभिट्टामा तेस्रो सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । 

बैशाख २ गतेसम्म चल्ने  महोत्सवमा नगर क्षेत्रभित्र रहेका १८ वटा जातजातिको सांस्कृतिक पहिचान झल्कने गरी बृहत सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको परिषद्ले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

महोत्सव निर्देशक समिति संयोजक केवलराम राईले आदिवासी जनजातिहरुको संस्कृति र पहिचानसँग जोडिएको महोत्सव २०७० सालदेखि सुरु गरिएको बताउनुभयो । 

उहाँले महोत्सव २०७२ सालमा दोस्रो र लामो समयपछि यसपटक १८ वटा जातिहरुको सहकार्यमा काँकरभिट्टा माविको खेल मैदानमा तेस्रो सांस्कृतिक महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । 

महोत्सवमा तामाङ, मेचे, सुनुवार, गुरुङ, राई, थामि, राजबंशी, लिम्बु, नेवार, धिमाल, माझि, शेर्पा, मगर, भुजेल, थारु, बिर्जा, किसान र मुण्डा जातिहरुको सांस्कृतिक परम्परागत घर तथा संस्कृति पर्यावरण झल्किने १८ वटै जातिको स्टल रहने नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मेचीनगरका निवर्तमान अध्यक्ष ओमप्रकाश खापुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार आदिवासीहरुको मौलिक खानपान, सांस्कृतिक भेषभुषा र प्रत्येक दिन तीन वटा जातिय समुदायले विशेष सांस्कृतिक कार्यक्रम गर्नेछन् । महोत्सवको उद्घाटन प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन दिउँसो २ वजेसम्म र साँझ ६ वजेदेखि ८ वजेसम्म सांस्कृतिक कार्यक्रम हुनेछ । चैत २८ गते धिमाल जाति विकास केन्द्र, नेपाल थामी संघ र नेपाल माझी उत्थानका नेतृत्वकर्ता चित्र धिमाल, ललित थामी र सन्तलाल माझीको सहकार्यमा सांस्कृतिक कार्यक्रम हुनेछ ।

त्यस्तै चैत २९ गते नेपाल तामाङ घेदुङ, सुनुवार समाज र राजबंशी समाज विकास समितिका नेतृत्वकर्ता भक्त तामाङ, पदम सुनुवार र र दिनेश राजबंशीको सहकार्यमा हुनेछ ।

चैत ३० गते नेपाल मगर संघ, नेपाल शेर्पा संघ, बिर्जा समाज समिति र मुण्डा समुदायका नेतृत्वकर्ता विकास थापा मगर, पासङ शेर्पा, अभिशेक बिर्जा र वन्दन मुण्डाको सहकार्यमा हुनेछ ।

यस्तै चैत ३१ गते नेवा दे दवु, किराँत राई यायोक्खा र थारु कल्याणकारी सभामुदायका नेतृत्वकर्ता शोभा श्रेष्ठ, बालाजित राई र रञ्जित र चौधरीको सहकार्यमा हुनेछ ।

आगामी बैशाख १ गते भुजेल समाज, किराँत याक्थुग चुम्लुङ र मेचे शिवियारी आफतका नेतृत्वकर्ता लक्ष्मिकान्त भुजेल, वीरु वेघा र देशभक्त मेचेको सहकार्यमा हुनेछ । र अन्तिम समापनका दिन बैशाख २ गते तमु हूयूल छोँजधी र किसान समुदाय क्लबका नेतृत्वकर्ता सुभास गुरुङ र भीम किसानको सहकार्यमा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

महोत्सवभरिको टिकट शुल्क रु.२०० लाग्ने छ । टिकट काट्नेले भाग्यशाली उपहारहरु पाउने छन् । टिकट काट्ने ११ जना व्यक्तिहरुले भाग्यशाली उपहारका रुपमा पहिलो स्कुटर, दोस्रो वासिङमेसिन, तेस्रो ल्यापटप र चौँथो उपहार ८ जनालाई स्मार्ट मोवाइल फोन उपहार दिइने खापुङले जानकारी दिनुभयो । महोत्सवमा हिन्दु, बौद्व, किराँत, मुस्लिम र क्रिश्चयनका धर्मगुरुहरुले परेवा उडाएर शान्ति र सदभाव अनि एकताको सन्देश दिइने गरी कार्यक्रमको उद्घाटन हुने जनाइएको छ ।

महोत्सव सम्पन्न गर्न रु.३५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । महोत्सव सफल बनाउन मेचीनगर नगरपालिकाले आठ लाख, गेट पास अर्थात टिकबाट रु. २४ लाख र अन्य दाताबाट रु तीन लाख संकलन हुने संयोजक राईले बताउनुभयो । महोत्सव सफल बनाउन विभिन्न उपसमितिसहित ५५१ जनाको मुल आयोजक समिति समेत गठन गरिएको छ । पत्रकार सम्मेलनको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मेचीनगरका अध्यक्ष रामबहादुर वाइवाले र कार्यक्रमको सहजीकरण निवर्तमान अध्यक्ष खापुङले गर्नुभएको थियो ।