सामयिक टिप्पणी
सामयिक टिप्पणी
झापा, २१ चैत । चैतको उधुम गर्मीमा काठमाडौंमा एक सातायता दुई वटा आन्दोलन भएका छन् । एउटा राजाबादीको र अर्को शिक्षकको ।
चैत १५ गते दुर्गा प्रसाई कमान्डर रहेको राजाबादी आन्दोलन र चैत २० गतेदेखि सुरु शिक्षक आन्दोलनका स्वरुप र शैलीलाई लिएर अहिले चर्चा भइरहेको छ ।
शान्तिपूर्ण भनिएको राजाबादीहरुको आन्दोलन नेतृत्वकै निर्देशनमा अराजक मात्र भएन, एक जना पत्रकारसहित दुई नागरिकको अनाहकमा ज्यान गुम्यो ।
पत्रकार सुरेश रजक आन्दोलनकारीहरुले आगो लगाएको घरभित्रै मृत भेटिए भने अर्का व्यक्तिको कोखामा प्रहरीले चलाएको गोली लागेको थियो ।
लामो समयदेखि कडा आन्दोलनको तयारीमा रहेका राजाबादीहरु चैत १५ गते शान्तिपूर्ण स्वरुप र शैलीलाई पुरै नकारेर सोझो मुठभेड र तोडफोडमा उत्रिएका थिए । नेताहरु नै श्रीलंका र बंगलादेश शैलीमा आन्दोलन गर्ने बताउने गर्दथे ।
उनीहरुले निजी सम्पत्तिमाथि आगजनी गरे । सरकारी उद्योग र सवारी साधनमा आगो झोसे । प्रहरीमाथि नै जाइलागे, बन्दुक पनि खोसे ।
हुन त यसरी अराजक हुनुमा राजाबादीहरुको आफ्नै तर्क छ । प्रहरीले नेताहरु रहेको मञ्चमा अश्रु ग्यास बर्षाएपछि भीड रिसाएको उनीहरु तर्क गर्छन् । अश्रु ग्याँस हान्नु प्रहरीको गल्ती नै थियो । तथापि यत्ति धेरै अराजक भइहाल्नु पर्ने कारण त थिएन कि भनेर मानिसहरु चर्चा गर्छन् ।
तथ्य त्यस्तो मात्र थिएन, आन्दोलनका कमान्डर दुर्गा प्रसाई स्वयम् अराजक देखिए । आओ न हाउ आओ भनेर भीडलाई संसद् भवन (नयाँ बानेश्वर)तिर लैजान आतुर प्रसाईले गाडी चलाएर प्रहरीको बाक्लो घेरा तोड्ने क्रममा प्रहरीको हुल धन्न किचिनबाट जोगिएको थियो ।
अब चर्चा गरौं शिक्षक आन्दोलनको । पहिलो र दोस्रो दिन काठमाडौं केन्द्रित आन्दोलन शान्तिपूर्ण रह्यो । जिल्लाहरुबाट ओइरिएका हजारौं शिक्षकले बानेश्वर नजिकका सहरी सडक कब्जा जत्तिकै गरेका थिए । तथापि एउटा पनि रेलिङ भाँचिएन, सडकको एउटा फुलको हाँगो पनि लत्रिएन ।
काठमाडौंका मेयर बालेन साहले ‘प्रिय शिक्षकहरु, जरिवाना तिराउने हाम्रो रहर होइन...’ भन्दै सामाजिक सञ्जालमा प्रशंसा गर्दै स्टाटस नै लेखे । उनले शिक्षकहरुको सभ्य र शान्तिपूर्ण आन्दोलनबाट समाजले धेरै शिक्षा पाएको बताउन भ्याए ।
हुन पनि आन्दोलनमा शिक्षकहरु नाच्दै र रमाउँदै सडकमा उत्रिएका थिए । शिक्षकले हातमा फलामका रड होइन, बाँसको मुरली बोकेका थिए । सडकमा राष्ट्रभक्तिका गीत र धुनहरु गुञ्जिएका थिए । राजाबादीहरुको आन्दोलनमा सडकमा हिंसाको ताण्डव मञ्चिएको थियो ।
काठमाडौं महानगरपालिकाले कुनै जरिवाना तोक्नु परेन । प्रहरीसँग धक्कामुक्का भएन । न अश्रु ग्याँस चल्यो न प्रहरीको लाठी ।
शिक्षकहरुको माग जायज थियो । राजाबादीहरुको माग नाजायज । भविष्यमा देश चलाउने शिक्षित नागरिक जन्माउने शिक्षकहरु आफै भोकै पढाइरहेका छन् । कतिपय शिक्षकहरु मासिक १० हजारमै पढाइरहेका छन् । विद्यालयमा अहिलेसम्म सरकारले कर्मचारी चाहिन्छ भन्ने बुझ्न सकेको छैन । आँशु र पीडामा डुबुल्की मार्दै हाम्रा शिक्षकहरु धन्न पो पढाइरहेका रहेछन् ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी हुनुपर्यो भन्ने माग राखेका छन् । सरकारले वर्षौदेखि यो ऐन नबनाएर शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाइरहेको छ । सरकारले यसै अधिवेशनमा शिक्षा ऐन पास गर्ने बताएको थियो । पटकपटक झुक्याएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।