फ्याक्ट
फ्याक्ट
झापा, २४ चैत । नेपालगञ्जस्थित वीपी कोइरालाको शालिकमा राजाबादीहरुले मोसो दलेको भनेर शनिवारदेखि सामाजिक सञ्जालमा हावादारी खबर फैलिइरहेको छ ।
हुन त अहिले सामाजिक सञ्जालले साँचोभन्दा अफवाहलाई बढी फैलाउन मदत गरिरहेको छ । त्यसैलाई पत्याएर सञ्जाल प्रयोगकर्ताले पक्ष र विपक्षमा तर्क, गाली र बहस गरिरहेका छन् ।
यो विषयले राजाबादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच टकराव ल्याउन खोजेको छ । उच्च स्तरका नेताहरु (डा. शेखर कोइराला समेत)ले सञ्जालमै आएको खबरका आधारमा घटनाबाट आफु बिचलित नभएको प्रतिक्रिया दिनु भएको छ ।
खासमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको बीपी कोइरालाको शालिकमा मोसो दलिएको थिएन ।
राजाबादीहरुको एउटा समूहले शनिवार साँझ नेपालगञ्ज बजारमा राँके जुलुस निकालेको थियो । जुलुसको आयोजना राष्ट्रिय प्रजातन्त्र पार्टी आफैले गरेको थियो ।
राप्रपाका महामन्त्री तथा सांसद् धवल शमशेर राणा (यही क्षेत्रका जनप्रतिनिधि)लाई सरकारले पक्रेर मुद्धा लगाएको कारण राजाबादी जुलुस बढी नै आक्रोशित थियो । उनीहरुले रिहाइको माग गर्न राँके जुलुस निकालेको थिए ।
जुलुस अघि बढ्ने क्रममा वीपी चोकमा पुगेपछि राजावादी समूहसँग प्रहरीको घम्साघम्सी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले बताउनु भएको छ ।
तानातानको क्रममा जुटको बोराको टुक्रा आन्दोलनकारीले हुत्याए । बोरा उछिट्टिएर शालिकको अनुहारमा लेपासियो । यही भिडियो र फोटोलाई देखाएर सामाजिक सञ्जाल प्रयोगकर्ताले द्वन्द्व भड्काउने गरी प्रचार गरिरहेका छन् ।
‘आन्दोलनकारी र प्रहरीको घम्साघम्सीमा बोराको टुक्रा शालिकमा परेको थियो,’ एसपी कार्कीले सञ्चारकर्मीहरुसँग भन्नु भएको छ–‘हामीले बोरा तुरुन्तै हटायौं । मोसो दलिएको छैन ।’
नेपालगञ्जकी पूर्व उपमेयर एवम् नेपाली कांग्रेसकी नेतृ उमा थापामगरले राप्रपाले निकालेको राँके जुलुसमा अराजक व्यक्तिहरूले बीपीको शालिकमा कपडा फ्याँकेको र त्यसलाई हटाइसकिएको जनाउँदै मोसो नदलेको बताउनुभयो ।
राप्रपाको नेपालगञ्ज नगर कार्यसमितिका अध्यक्ष हुकुम सिंह केसीले वीपी कोइराला सबैको आस्थाका केन्द्र र जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाप्रति सधैँ सम्मान र विश्वास रहेको बताउनु भएको छ ।
राजाबादीहरुले चैत १५ गते काठमाडौंमा गरेको प्रदर्शनमा आगजनी हुँदा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको विषयमा पनि यसरी नै हावादारी हल्ला चलाइएका थिए । उनको पोस्टमार्टम जाँच गदौ गोली भेटिएको भनेर । यो हल्ला चलेका बेला खासमा शबको पोस्टमार्टम नै गरिएको थिएन ।
हल्लाकै कारण तीन दिनपछि पोस्टमार्टम हुँदा चिकित्सकहरुले पहिला शबको एक्स रे गरेका थिए । एक्स रे गर्दा गोली नभेटिए पछि मात्र चिकित्सकहरुले पोस्टमार्टम जाँच गरेका थिए ।