झापा, २५ चैत । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएको राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले बताउनु भएको छ ।
मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुराको जानकारी दिँदै प्रक्रिया पूरा गरेर धनीपूर्जा वितरण गर्न आयोगले तीब्र गतिमा काम गरिरहेको बताउनुभयो ।
अध्यक्ष रिजालले भूमि सम्बन्धी अध्यादेश अनुमोदन नगरेर भूमिहीनहरुको अधिकारमाथि खेलवाड भएको आरोप लगाउनुभयो । उहाँले वत्र्तमान भूमि आयोग पहिलेका तीन वटा आयोगभन्दा फरक रहेको दावी गर्दै अहिलेको आयोग संबैधानिक आयोग भएको र यसको कार्यकाल तीन वर्ष तोकिएको बताउनुभयो ।
कार्यक्रममा आयोगका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले अबको दुई वर्षभित्र नेपालका १३ लाख सुकुम्बासीलाई धनिपूर्जा वितरण गरिने बताउनुभयो । कार्यक्रममा भूमि आयोगका झापा अध्यक्ष मदन अधिकारीले विचौलियासँग सहकार्य नगरी पालिकामार्फत प्रक्रिया पूरा गरेर आएका निवेदनहरुलाई दर्ता गरी चाँडै धनीपूर्जा वितरण गरिने बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ डा.जगतबहादुर वस्नेतले पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई आयोगको काम, कर्तव्य र अधिकारसहित भावी कार्ययोजनाका बारेमा जानकारी दिनुभएको थियो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बास्तविक हकदारहरुलाई जग्गाको धनीपूर्जा वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले मेचीनगरमा छ हजार ३३० जना भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीले धनिपूर्जाका लागि निवेदन दिएको जनाउँदै तीमध्ये पाँच हजार १५१ जनाले निस्सा प्राप्त गरिसकेको जानकारी दिनुभयो ।
मेचीनगरमा भूमिहीन दलित ३५८ जना, भूमिहिन सुकुमबासी दुई हजार २४६ जना र र अव्यवस्थित बसोबासी तीन हजार ७२६ जना गरी छ हजार ३३० जनाले धनीपूर्जा पाउनका लागि नगरपालिकामा निवेदन दिएको उहाँले बताउनुभयो ।