अग्रजलाई सुनौं
अग्रजलाई सुनौं
झापा, १० वैशाख । कञ्चनजंघा एफएममा कार्यक्रम प्रस्तोता बन्नु अघि मेचीनगर नगरपालिका वडा नं. ९ का शिरो सान्दाइ खतिवडा मेची बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुहुन्थ्यो । तीन दशकसम्म दैनिक घण्टौं कक्षामा उभिएर क्याम्पसमा पढाउँदा जतिले चिने, बिगत दुई दशकमा दैनिक आधा घण्टा ‘समवेदना कार्यक्रम’ सञ्चालन गर्दा त्योभन्दा कयौ गुणा धेरै मानिसमाझ उहाँ परिचित हुनुभयो ।
‘समवेदना कार्यक्रम’ पृथक विशेषता भएको रेडियो कार्यक्रम थियो । जसको देशभित्र मात्र होइन, विदेशसम्म असंख्य स्रोता छन् । विर्तामोडको कञ्चनजंघा एफएममा हरेक साँझ ७ बजे प्रशारण हुने ‘समवेदना कार्यक्रम’मा मृत्युका सन्देश मात्र सुनाउने गरिन्छ । जसको प्रस्तोता हो– ७३ वर्षीय शिरो सान्दाइ ।
वि.सं. २०४६ मा बहुदलीय प्रजातन्त्र बहालीपछि मुलुकमा निजी क्षेत्रबाट रेडियो (एफएम) सञ्चालन गर्ने प्रचलन सुरु भयो । वि.सं. २०५९ मा स्थापना भएको कञ्चनजंघा झापाको पहिलो एफएम स्टेसन थियो ।
रेडियो कार्यक्रममा मनोरञ्जनात्मक गीत र संगीतका साथै समाचारले नै प्राथमिकता पाउने गर्छन् । तर, कञ्चनजंघाले ‘समवेदना कार्यक्रम’ भनेर अरुभन्दा भिन्न कार्यक्रम सुरु गर्यो । कार्यक्रमको नियमित स्रोता बताउने पत्रकार एकराज प्रधानका अनुसार कुन गाउँमा कसलाई शोक परेको छ कि भनेर रेडियो वरिपरि बसेर ‘समवेदना कार्यक्रम’ सुन्ने गाउँमा चलनै बसिसकेको छ ।
चार हजारभन्दा बढी श्रृंखला पार गरिसकेको ‘समवेदना कार्यक्रम’का चर्चित प्रस्तोता शिरो सान्दाइलाई आज प्रेस चौतारी झापाले ‘अग्रजलाई सुनौं’ कार्यक्रममा साक्षात्कार गरायो । कार्यक्रममा सान्दाइले आफ्नो अनुभव र अनुभूतिहरु खुलेरै सुनाउनुभयो ।
“आज पनि म मलामी जाँदा होस् कि बिहेमा जन्ती जाँदा,” उहाँले सुनाउनुभयो–“मानिसहरुले भेट्नासाथ ‘समवेदना कार्यक्रम’कै प्रसंग निकाल्छन् । भावुक हुन्छन् र मेरो प्रस्तुतिको चर्चा गर्छन् । मैले पनि त्यही कार्यक्रमका बारेमा अनवरत भनिरहनु परेको छ ।”
कञ्चनजंघा एफएम स्थापना भएपछि प्रबन्ध निर्देशक चन्द्र भण्डारीले बोलाएर एउटा रेडियो कार्यक्रमको प्रस्तोता बनिदिन आग्रह गर्नु भएको उहाँले बताउनुभयो । त्यही ‘समवेदना कार्यक्रम’ कालान्तरमा आम स्रोतामाझ लोकप्रिय बन्ला भन्ने सान्दाइलाई अनुमानसम्म थिएन ।
पहिलो श्रृंखलाको प्रत्यक्ष प्रशारणमै उहाँको बोली कापेको र रुन्चे सुनिएको थियो । आखिरमा कार्यक्रम प्रस्तुत गर्ने त्यही रुन्चे शैली नै ‘समवेदना कार्यक्रम’को विशेषता बन्न पुग्यो ।
साँझको ७ बजे शोकधुनबाट कार्यक्रम सुरु हुन्छ । त्यसपछि शिरो सान्दाइले रुन्चे बोलीमा यसरी सुरु गर्नु हुन्छ कार्यक्रम–“नमस्कार । कञ्चनजंघा एफएम ९२ दशमलव ६ मेगाहर्जको सन्ध्याकालीन प्रशारण कार्यक्रम समवेदनाबाट प्राविधिक साथी राजन बाँस्कोटासहित म शिरो सान्दाई हार्दिक स्वागत अभिवादन गर्दछु ।”
पहाड, तराई र प्रवाससम्म मृत्यु भएका व्यक्तिहरुको खोजखबर र उहाँको जीवनकालको योगदानको कार्यक्रममा चर्चा हुने गर्दछ । ग्रामीण ठेट नेपाली लवज र रुन्चे शैलीमा उहाँले रेडियोबाट बाचन गरेको खबर नै दूरदेहातमा रहेका आफन्तका लागि शोक सूचना बन्ने गर्छ । कार्यक्रममा सुनेकै आधारमा मृतकको घर पुगेर समवेदना व्यक्त गर्दछन् मानिसहरु । रेडियो सुन्दा सुन्दै स्रोताहरु रुने गरेको घटना पनि भएको सान्दाइ बताउनुहुन्छ ।
कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक एवम् कार्यक्रमका परिकल्पनाकार चन्द्र भण्डारीले ‘समवेदना कार्यक्रम’को पहिलो श्रृंखलामा परीक्षणका लागि ‘फेक न्यूज’ प्रशारण गर्नु परेको सुनाउनुभयो ।
“मरेका मान्छेको खबर सुनाउँदा आम स्रोतामा कस्तो प्रभाव पर्ला भन्ने एकातिर परीक्षण गर्नु पर्ने थियो भने अर्कातिर मृत्युको खबर खोज्दै हिँड्न सुरुमा अप्ठेरो थियो,” उहाँले भन्नु भयो–“त्यहीकारण नक्कली नाम खडा गरेर मृत्यु सन्देशको स्क्रिप्ट बनायौं । अर्को दिनदेखि मानिसहरुले आफै सम्पर्क गरेर मृत्युका साँचो घटना टिपाउन थाल्नु भयो ।”
गत फागुनमा चट्याङ लागेर ट्रान्समिटर बिग्रिएका कारण हाल कञ्चनजंघाको सबै प्रशारण स्थगित छन् । केही अवधिभित्रै एफएम पुनः सञ्चालनमा ल्याइने र समवेदना कार्यक्रमलाई समेत निरन्तरता दिइने प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिनुभयो ।
हजारौं मृत्युका सन्देश सुनाउनु भएका रेडियो कार्यक्रम प्रस्तोता सान्दाइले गलत सूचनाका कारण जिउँदै मानिसको मृत्युको सन्देश प्रशारण गर्दा ठूलो मानसिक तनाव व्यहोर्नु परेको अनुभूति समेत ‘अग्रजलाई सुनौं’ कार्यक्रममा सुनाउनु भयो ।
एकपटक विर्तामोडका बस्नेत थरिका एक वृद्धको मृत्यु भएको दुःखद् खबर सान्दाइलाई फ्याक्सबाट प्राप्त भयो । मृतकका छोराबुहारीहरु सामाजिक क्षेत्रका अगुवा थिए । उहाँले रुन्चे शैलीमै कार्यक्रममा मृतकको चर्चा गर्नुभयो । उहाँ भन्नुहुन्छ–“बस्नेत बा कार्यक्रमका नियमित स्रोता रहेछन् । आफ्नै आँगनमा बसेर त्यो साँझ आफ्नै मृत्युको समाचार सुनेछन् । कार्यक्रम सकिनासाथ फोन आउन थाल्यो । मेरो होस् हवास् नै उड्यो । भोलिपल्ट कार्यक्रमबाटै माफी मागेँ । पछि भेट हुँदा बस्नेत बाले व्यंग्य गर्दै आयू बढेको प्रतिक्रिया दिनुभयो ।”
प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले पुराना र नयाँ पुस्ताका पत्रकारहरुबीच अन्तरघुलनको वातावरण बनाउन “अग्रजलाई सुनौं” कार्यक्रम सुरु गरिएको बताउनु भएको छ । हरेक तीन महिनामा एकपटक अग्रज पत्रकारका अनुभव र अनुभूति सुन्ने यस कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले प्राध्यापन, राजनीति, व्यवसाय र पत्रकारिताको क्षेत्रमा स्थापित अग्रज शिरो सान्दाइ ‘समवेदना कार्यक्रम’ मार्फत भुइँमान्छेमाझ परिचित हुनुभएको बताउनुभयो ।