कृषि
कृषि
झापा, १२ वैशाख । विर्तामोड नगरपालिकाले स्थानीय कृषकको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले उन्नत जातको बाख्राका सात सय वटा पाठा किसानहरुलाई वितरण गरेको छ ।
नगरका ११ वटा वडाका पशुपालक किसानमध्ये गोला प्रथाबाट छनौट गरेर १६ वटा कृषक समूहका २४० जना किसानलाई ७२० वटा बाख्रा वितरण गरिएको पशुपंछी तथा मत्स्य विकास शाखाकी अधिकृत सावित्रा दाहालले बताउनुभयो ।
नगरपालिकाले कृषकहरुलाई बाख्रा वितरणका लागि वि.सं. २०७४ देखि ‘मेयर पकेट बाख्रा वितरण कार्यक्रम’ सञ्चालन गर्दै आएको नगरप्रमुख पवित्रा महतरा प्रसाईले बताउनुभयो ।
यो कार्यक्रम लोकप्रिय छ । यसमा सहभागी हुन कृषकहरुले समूहमा आवद्ध हुनुपर्छ । गोलाप्रथाबाट छनौटमा परेका समूहमा आवद्ध हरेक कृषकले तीन वटाका दरले उन्नत जातको बाख्राको पाठा पाउने गरेका छन् । एउटा समूहमा एउटा बीउ बोका समेत दिइने गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर २ को समृद्धि पूर्णिमा कृषक समूहका १५ जना कृषकले पछिल्लोपटक ४५ वटा बाख्राका पाठा पाएको वडाध्यक्ष किशोर पौडेलले जानकारी दिनुभयो ।
“बाख्रा लिनका लागि धेरै जना कृषकको आवेदन आउने गरेको छ,” वडाध्यक्ष पौडेलले भन्नुभयो–“वितरणमा निष्पक्षता होस् भनेर गोला प्रथाबाट किसान छनौट गर्दै आएका छौं । यसपटक बाख्रा नपाउनु हुने किसानले अर्कोपटक पाउनुहुन्छ ।”
विर्तामोड नगरपालिकाले माछा, मासु, दुध र तरकारीमा नगरलाई आत्मनिर्भर बनाउन ठूलो लगानी गर्दै आएको नगरप्रमुख प्रसाई बताउनुहुन्छ । ‘मेयर पकेट कार्यक्रम’ अन्तर्गत कृषकहरुलाई बाख्रासँगै बंगुरका पाठा समेत वितरण गरिदै आएको छ ।
“बाख्रा पाल्नेलाई बाख्राका पाठा र बंगुर पाल्नेलाई बंगुरका पाठा दिन्छौं,” नगरप्रमुख प्रसाईले भन्नुभयो–“विर्तामोड झापाको प्रमुख व्यापारिक केन्द्र भए तापनि यहाँका अधिकांश मानिस कृषिमा आश्रित छन् । किसानहरुलाई व्यावसायिक बनाउन गाउँको सिंहदरवारको रुपमा नगर सरकारले कृषि क्षेत्रलाई बजेटमा प्राथमिकता दिदै आएको छ ।”
नगरकी पशुपंछी तथा मत्स्य विकास शाखाकी अधिकृत सावित्रा दाहालले कृषकलाई दिइएको बाख्रा र बंगुरको बिमा गरिदै आएको बताउनुभयो । नगरपालिकाले आयातित तरकारीलाई निरुत्साहित र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न ‘पारिको होइन बारीको’ भन्ने कार्यक्रम अन्तर्गत बजार क्षेत्रमा किसानका उत्पादन बिक्री गर्ने पसल समेत सञ्चालन गर्दै आएको छ ।