झापा, ६ जेठ । जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर आधा घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे तापनि तीन वटै राडार हाल बिग्रिएर थन्किएका छन् ।
ती राडार मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन सक्दा आधा घण्टादेखि एक घण्टा अघि नै चट्याङ पर्ने क्षेत्रको जानकारी पाउन सकिने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले बताउनुभयो ।
उक्त राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने स्थानको विश्लेषण गर्ने उहाँ बताउनुहुन्छ ।
घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरणहरु जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उहाँले बताउनुभयो ।
स्रोत र साधनले बलियो रहेका स्थानीय नगरपालिका र गाउँपालिकाहरुले चट्याङबाट जोगिने उपायका बारेमा वडा र टोलसम्म पर्याप्त मात्रामा सचेतना पुर्याउन सक्ने उहाँको सुझाव छ ।
बिडम्बनाको कुरा के छ भने स्थानीय पालिकाको नीति, कार्यक्रम र बजेटमा चट्याङ भन्ने शब्द नै कहिँ भेटिदैन ।