८ जेठ २०८२, बुधवार

यता घर जलिरह्यो, उता दमकल घुमिरह्यो

७ जेठ २०८२, मङ्गलवार
Image

झापा, ६ जेठ । मंगलवार विहान साढे ८ बजेतिर मेचीनगर वडा नं. ९ को थोप्लेबिरानमा स्वस्तिका अधिकारीको घरमा आगलागी सुरु हुनासाथ स्थानीयबासीले दमकल गुहारे ।

सबैभन्दा पहिला मेचीनगर नगरपालिकाकै दमकल बोलाइयो । तर, दमकल घटनास्थलमा आइपुग्दा आगोको लप्काले अधिकारीको दुई तले घर लगभग खरानीमा परिणत भइसकेको थियो ।

साइरन बजाउँदै आएको दमकललाई आक्रोशित गाउँलेले हाटाटहुटुट पारेर फर्काइदिए । आखिर बेलैमा बोलाएको दमकल पाँच किलोमिटर नजिक रहेको आगलागीस्थलमा किन समयमै आइपुगेन ? 

नगरपालिकाप्रति नगरबासीले प्रश्न गर्न थालेका छन् । दमकल बेलैमा आइपुग्ला र आगो निभाएर क्षति हुनबाट जोगाउँथ्यो होला भन्ने नगरबासीको आशा स्वाभाविक छ ।

अधिकारीको घर आगलागीबाट खरानीमा परिणत हुन एक घण्टा भन्दा बढी समय लागेन । घरमा मानिसहरुले लगाएको एकसरो लुगा बाहेक केही बचेन । अन्नतपात डढ्यो । भाडावर्तन डढ्यो । काठ, टिन र ईटाको गारोले बनेको दुई तले घर हेर्दाहेर्दै स्वाहा भयो ।

प्रहरीले मुचुल्का गरी रु. १० लाख ८० हजार बराबरको धनमाल क्षति भएको जनाएको छ । आगलागीबाट सर्वस्व गुमाएको अधिकारी परिवारलाई नेपाल रेडक्रस सोसाइटी धुलाबारी शाखाले राहत सामम्री दिएको छ । त्रिपाल, भाडावर्तन, लुगाफाटो लगायतका सामान पीडित परिवारले पाएको छ ।

स्थानीयबासीका अनुसार अधिकारीको घरमा आगलागी हुँदा मेचीनगरको दमकल खुट्टिडाँगीको विभिन्न सडकमा फन्फनी घुमिरहेको थियो । दमकलका कर्मचारीहरुले आगलागी भएको घरसम्म पुग्ने सही लोकेसन पत्ता लगाउन सकेनन् ।

धुलाबारी चोकबाट उत्तर खुट्टिडाँगी जाने मुख्य सडक (शहीद मार्ग) निर्माणाधीन अवस्थामा छ । धुलाबारी चोकबाट वडा नं. १० र वडा नं. ९ को सीमानासम्म सडक निर्माणमा बिलम्ब हुँदा लथालिङ्ग अवस्था छ । जताततै निर्माण सामग्री थुपारिएका छन् । जताततै खाल्डाखुल्डी खनिएको छ । 

सबैभन्दा समस्या त निर्माणाधीन ड्रेनमा छ । स्थानीय गल्ली र मानिसहरुको घरतिर जान निर्माणाधीन ड्रेन अवरोध बनेको छ । दमकलले पनि यही सकस व्यहोर्नु पर्यो ।

मुख्य सडकबाट कमल चोक हुँदै आगलागी भएको घरसम्म जान जुन बाटो जानु पर्ने थियो, दमकलका कर्मचारीले सही लोकेसनको भेउ नै पाएनन् । घरि यताको गल्ली र घरि उताको गल्ली चहार्दा चहार्दै समय बित्यो । आखिर घटनास्थलमा दमकल समयमा पुग्न सकेन ।

बेलैमा दमकल नपुग्नुमा निर्माणाधीन अवस्थाका सडकहरुको अवस्था बारेमा दमकलका कर्मचारी बेखबर हुनु ठूलो कमजोरी हो । नगरपालिका आफैले निर्माण कार्यको अनुगमन गरिरहेको सडकमा कताबाट दमकल जान सक्छ र सक्दैन भनेर पूर्वतयारी गर्नु पर्ने थियो । 

सडकको हालत र कर्मचारीहरुको अलमल नै थोप्लेबिरान आगलागीमा बेलैमा दमकल नपुग्नुको मुख्य कारण हो । आगामी दिनमा यस्तो गल्ती नदोहोरिनेतर्फ नगरपालिका सचेत बन्नै पर्छ ।