झापा, १२ जेठ । मेचीनगर नगरपालिकाले सञ्चार ऐनको मस्यौदा आज छलफलका लागि सार्वजनिक गरेको छ ।
नगरको सभाहलमा नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी अतिथि रहनु भएको कार्यक्रममा सरोकारवालाहरुका लागि ऐनको मस्यौदा सार्वजनिक गरिएको हो ।
नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष एवम् अधिवक्ता तारामणि सापकोटाले ऐनको मस्यौदा तयार पार्नु भएको हो । मस्यौदामा आमसञ्चार क्षेत्रको विकास, प्रवर्धन र व्यवस्थापनका लागि विभिन्न व्यवस्थाहरु गरिएको सापकोटाले उक्त अवसरमा चर्चा गर्नुभयो ।
यसपछि सरोकारवालाहरुसँग छलफल गरी आएका सुझावका आधारमा नगरपालिकाले मस्यौदामा थपघट गर्न सक्ने र नगरसभाबाट पारित भएपछि मात्र ऐनको रुपमा लागू हुनेछ । सञ्चार सम्बन्धी ऐन नेपालमै पहिलोपल्ट मेचीनगरले ल्याउने प्रक्रिया सुरु भएको छ ।
नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले सञ्चार ऐनको मस्यौदा पत्रकारकै तर्फबाट भएकोमा खुशी व्यक्त गर्दै मस्यौदाका बारेमा अध्ययन र घनिभूत छलफल गरी नगरपालिकालाई सुझाव दिन आग्रह गर्नु भएको थियो ।
उहाँहरुले सार्वजनिक गरिएको ऐनको मस्यौदामा सरोकारवालाहरुसँग निकट भविष्यमा वृहत छलफल चलाइने बताउनु भएको थियो ।
मस्यौदा सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष एवम् प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल, महासंघको पूर्व केन्द्रीय सदस्य मोहन काजी, नेपाल प्रेस युनियनका कोशी प्रदेश उपाध्यक्ष एवम् प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारी नेपालको कोशी प्रदेश सचिव एवम् प्रेस क्लव मेचीनगरका पूर्व अध्यक्ष लक्ष्मी उप्रेती, प्रेस क्लव मेचीनगरका सचिव प्रविण अधिकारी, मेचीनगरका प्रेस संयोजक अर्जुन कार्की लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, नेपाल पत्रकार महासंघ झापाले मेचीनगर नगरपालिकामा पत्रकारितासँग सम्बन्धित विभिन्न माग राख्दै आज ज्ञापन पत्र बुझाएको छ ।
महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेलले मागपत्र नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो ।