बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले फर्मालिन हालेर भारतबाट आयात हुने मरेका माछाको विक्री वितरण रोक्न कठिन भइरहेको बताउनु भएको छ ।
नगरपालिकाले सोमवार विर्तामोडमा आयोजना गरेको माछापालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम समापन कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
झापामा भारतबाट आयातित मरेका माछाको विक्रीमाथि प्रतिबन्ध लगाउने विर्तामोड पहिलो नगरपालिका हो । हालै शिवसताक्षी नगरपालिकाले समेत प्रतिबन्ध लगाएको जनाएको छ । मेचीनगरमा समेत प्रतिबन्ध लगाउनु पर्ने माग भइरहेको छ ।
भारतबाट आयातित मरेका माछामा मानव स्वास्थ्यका लागि हानिकारक फर्मालिन नामक रसायनको प्रयोग गरिएको हुन्छ । त्यहीकारण त्यस्ता माछाको विक्रीमा प्रतिबन्ध लगाइएको हो ।
छिमेकी पालिकाहरुको सहयोगी नीति नहुँदा प्रतिबन्धको कडाइका साथ कार्यान्वयन गर्न कठिन भएको नगरप्रमुख प्रसाईको भनाई छ । उहाँले फर्मालिलन हालेका माछामा प्रतिबन्ध लगाउन छिमेकी पालिकाहरुलाई आग्रह गर्नु भएको छ ।
‘हामीले मात्र प्रतिबन्ध लगाएर पुग्दैन,’ उहाँले भन्नुभयो– ‘छिमेकी पालिकामा मरेका माछाहरु धमाधम विक्री भइरहेका छन् । त्यतातिर पनि रोकिनु पर्छ ।’
उहाँले उपभोक्ता सचेत भए मात्र नगरपालिकाले लगाएको प्रतिबन्धको पूर्ण कार्यान्वयन हुने बताउनुभयो । छिमेकी पालिकाले मरेका माछाको आयात र विक्री वितरण खुला छाडेकोमा विर्तामोडकी नगरप्रमुख प्रसाईले गुनासो गर्नु भएको छ ।
विर्तामोडले तीन वर्ष अघि २०७९ असोज ६ गतेको कार्यपालिका बैठकमार्फत भारतबाट आयातित अस्वस्थकर माछाको विक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । त्यसयता नगरपालिकाले त्यस्तो माछा विक्री गरेको भेटेमा जफत गरेर खाल्डोमा पुर्ने र व्यवसायीलाई जरिवाना गराउँदै आएको छ ।