२० जेठ २०८२, सोमवार

बाहुनडाँगीको ब्यथा

मेचीनगरमा जंगली हात्ती र चितुवाको दोहोरो त्रास

१९ जेठ २०८२, आइतवार
Image

झापा, १८ जेठ । चितुवा पसेर गाउँ असुरक्षित भएपछि मेचीनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपक बराल सशस्त्र बनरक्षकको टोली लिएर रातभर गस्तीमा हिँड्न थालेको तीन दिन भइसक्यो ।

मेचीनगर–४ का बस्तीहरुमा पनि चितुवाको त्रास उस्तै छ । लुकीछिपी आउने चितुवाले हरेक रात स्थानीयबासीको खोरमा पसेर बाख्रा, खसी र सुँगुर मार्न थालेको छ । मेचीनगरको वडा नं. २ र ४ मा चितुवाले १५ दिनयता दर्जनौं घरपालुवा पशुचौपाया मारिसकेको छ ।

दिनभरि सामुदायिक बन, चिया बगान र पारिवारिक निजी वनमा लुकेर बस्ने चितुवाले साँझ परेपछि स्थानीयबासीको खोरबाट बाख्रा र सुँगुर मारेर घिस्याउने गरेको वडाध्यक्ष दीपक बरालले बताउनुभयो ।

साविक बाहुनडाँगी गाविसको रुपमा चिनिएको मेचीनगरको वडा नं. १, २, ३ र ४ हात्तीबाट अत्याधिक प्रभावित क्षेत्र हो । यहाँ भारतबाट मेची नदी पार गरेर दिनहुँ सयको बथानमा हात्ती नेपालतिर प्रवेश गर्छन् । साँझमा प्रवेश गर्ने हात्तीको बथान रातभरि स्थानीयबासीको बालीविरुवा चरेर विहानीपख भारततिरै फर्किने गरेका छन् ।

वर्षौदेखि हात्तीको पीर खेपिरहेका बाहुनडाँगीबासीलाई चितुवाको त्रास थपिएको वडाध्यक्ष बराल बताउनुहुन्छ । “हात्तीको नियमित आतंक, बाँदरको अस्वाभाविक विगार खेपिरहेका हामीले फेरि चितुवाको सामना गर्नु परिरहेको छ,” वडाध्यक्ष बराल भन्नुहुन्छ– “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ ।”

भारतको सीमावर्ती जंगली क्षेत्रसँग जोडिएको मेचीनगर वडा नं. ४ मा सबैभन्दा पहिला चितुवा देखा परेको सोही वडाका अध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ । भारतीय जंगलमा बन्यजन्तु आरक्षण रहेको र त्यहाँ सबै प्रकारका जनावर भएकाले उतैबाट भौतारिएर चितुवा बाहुनडाँगीमा प्रवेश गरेको हुनसक्ने कार्कीले बताउनुभयो ।

दुई महिना अघि मेचीनगर–४ मा देखा परेको चितुवालाई नियन्त्रणमा लिन कनकाईस्थित जामनुखाडी सामुदायिक बनबाट फलामे खोर ल्याएर जाल थापिए पनि चितुवालाई नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो । 

सात वर्ष अघि बाहुनडाँगीमै चितुवाले त्रास मच्चाउँदा बन कार्यालयको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको थियो । बाहुनडाँगी नजिकै सीमावर्ती भारतीय क्षेत्रबाट बिगतमा निगाले बाघ र गौरी गाई समेत बाहुनडाँगीमा आइपुगेका थिए । नेपाल ओहोरदोहोर गरिरहने हात्तीको बथान समेत सीमावर्ती भारतीय बन्यजन्तु आरक्षणमा आश्रय लिएर बस्ने गरेका छन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले मेचीनगर क्षेत्रमा पशु चौपाया मार्ने र खाने गरेको घटना जानकारीमा आए तापनि मानवीय क्षति नभएको बताउनुभयो । उहाँले चितुवा हिंडिरहने जनावर भएका कारण इलाम झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुने सक्ने बताउनुभयो । 

हात्तीसँगै चितुवाको दोहोरो त्रास थपिएपछि मेचीनगर २ र ४ मा पशुचौपाया मात्र होइन, मानवीय क्षतिको जोखिम बढेको छ । विद्यालयबाट घर फर्किने बालबालिका र मेलापातबाट साँझ घरमा आउने मानिसहरु चितुवाको आक्रमणमा कुनै पनि बेला पर्न सक्ने जोखिम रहेको वडाध्यक्ष बराल बताउनुहुन्छ ।

सामुदायिक बन, मकैबारी, चियाबारी, सुपारी बगान र निजी बन छिचोलेर सडक पार गर्नु पर्ने भएकाले मानिसहरु एक्लै–दोक्लै हिँड्न डराउने गरेका छन् । साँझ परेपछि मानिसहरु घरबाट बाहिर निस्कन डराउन थालेका छन् ।

स्थानीय चिया बगानमा कार्यरत श्रमिक, विहान बेलुका बाटो हिँड्ने व्यक्तिहरु र स्कूले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको वडाध्यक्ष बरालले बताउनुभयो ।

“अहिलेसम्म खसीबाख्रा मात्रै मारिरहेको छ,” उहाँले भन्नुभयो– “चितुवाले कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।” मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन फलामे खोरमा पासो थापिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका संघसंस्था र व्यक्तिहरुलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन अपिल समेत गर्नुभएको छ । यस क्षेत्रमा दुई वा सो भन्दा बढी संख्यामा बयस्क चितुवा आएको हुनसक्ने उहाँको अनुमान छ ।