झापा, १८ जेठ । राजा फर्काउन गठित जनआन्दोलन समितिले सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ ।
राप्रपाको नेतृत्वमा आइतबार भएको आन्दोलनमाथि प्रहरीले बर्बर दमन गरेको भन्दै उपत्यका बन्दको आह्वान गरिएको समितिका संयोजक नवराज सुबेदीले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।
राप्रपा नेतत्वको आइतवारको आन्दोलन क्रममा राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व गृहमन्त्री कमल थापालाई प्रहरीले लछारपछार पार्दै पक्राउ गरेको थियो । पक्राउ परेका थापालाई भेट्न जाँदा सांसद् दिपक सिंह समेत पक्राउ पर्नु भएको थियो ।
सरकारको दमनले आफूहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको संयोजक सुबेदीले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा रिहा हुनु भएको छ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापा पक्राउ पर्नु भएको थियो ।
प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिनु भएको छ ।
आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा.राजिव झा नछुट्ने भएका छन् । झा लाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो ।