झापा, २३ जेठ । सरकारले बहुप्रतिक्षीत भद्रपुरको गिरिजाप्रसाद कोइराला स्मृति भवन (जीपी सभागृह)का लागि रु. तीन करोड बजेट बिनियोजन गरेको छ ।
प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका नेता बसन्त बानियाँले जीपी सभागृहका लागि रु. तीन करोड यसपालीको बजेटमा छुट्टिएको बताउनुभयो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले अब जीपी सभागृहको अधुरो निर्माण कार्य पूरा हुने बताउँदै सरकारले बजेट बिनियोजन गरेको पुष्टि गर्नुभयो ।
१० वर्ष अघि २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, अहिलेका प्रधामन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार र पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले उक्त सभागृहको सामूहिक शिलान्यास गर्नु भएको थियो ।
सभागृह बन्ने भएपछि भद्रपुर क्षेत्रमा खुशीयाली छाएको छ । सभागृह निर्माणका लागि प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौला, पूर्व सांसद् बसन्त बानियाँ, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल लगायतले पहल गर्नु भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा जीपी सभागृह निर्माणका लागि उक्त बजेट बिनियोजन भएपछि अधुरो सभागृह बन्ने निश्चित भएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो ।
वि.सं. २०७२ असार ९ गते प्रेरा-शाह जेभी निर्माण कम्पनीले रु.१२ करोड ७२ लाख ६९ हजारको लागतमा सो भवन निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर गरेको थियो । कम्पनीले वि.सं. २०७४ भदौ ३१ गते भवन सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । १९ कठ्ठा जमिनमा बन्न सुरु भएको भवनको करिब ६५ प्रतिशत काम भइसकेको नगरप्रमुख पोखरेलको भनाई छ ।
निर्माणाधीन जीपी सभागृहको लम्बाइ ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ । यसको पहिलो तलामा व्यापारिक प्रयोजनका २७ वटा सटर र दोस्रो तलामा तीन वटा बैंक अट्ने फ्ल्याट र तेस्रो तलामा एक हजार जना क्षमताको अत्याधुनिक सभाहल बनाउने योजना थियो । तत्कालीन झापा जिल्ला विकास समितिले सभागृह निर्माणका लागि ठेक्का लगाएको थियो ।