१२ साउन २०८२, आइतवार

बाहुनडाँगीको दुःख

‘पारिका हात्ती’को चरन होइन बाहुनडाँगी : निरज घिमिरे

१२ साउन २०८२, आइतवार
Image

झापा, ११ साउन । दशकौंदेखि चुनावी मुद्धा बनाउने तर दीर्घकालीन समाधान नदिने प्रवृत्तिबाट दिक्क बाहुनडाँगीका हात्ती पीडित बासिन्दा पछिल्लो समय आक्रोशित देखिएका छन् ।

हात्ती पीडित युवा समूहको नामबाट नगरपालिकाको मुख्य प्रशासनिक भवन ‘ह्वाइटहाउस’ भित्रै छिरेर पीडितहरुले गत महिना आफ्नो आक्रोश मेयर गोपाल बुढाथोकी र उपमेयर मीना उप्रेतीलाई सुनाए ।

गम्भीर छौं, पहल गर्छौ र प्रतिवद्ध छौं भन्ने आश्वासन उनीहरुले सुनेको धेरै भइसक्यो । जब घाम अस्ताउँछ, बाहुनडाँगीबासीको मनमा उही त्रास दोहोरिन्छ– हात्ती । हात्तीको लस्कर मेची नदी तरेर भारतीय जंगलबाट आउँछन् । रातभरि बाहुनडाँगीका बस्ती बस्ती चहार्छन् र विहानीपख सरक्कै जताबाट आएका थिए उतै बाटो लाग्छन् ।

बाहुनडाँगीको जनप्रतिनिधि, राजनीतिक नेता र सचेत नागरिकको भूमिका निर्वाह गरिसक्नु भएको मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूर्वअध्यक्ष निरज घिमिरे बाहुनडाँगीमा आउने हात्तीको उपद्रो ‘पारिबाट सिर्जित’ भएको दावी गर्नुहुन्छ ।

‘बेलुका बाहुनडाँगी पसेर विहानको उज्यालो भुइँमा नखस्दै भारततिर सरक्कै जानुको खास रहस्य के हो ?,’ लोकतन्त्र पोस्टसँग कुराकानी गर्दै घिमिरेले भन्नुभयो–‘धान र मकैको सिजनमा मात्र यति धेरै सयौंको संख्यामा आउँछन् । अरु बेला कहाँ जान्छन् भन्न सकिन्न । दुई सिजनमा मात्र भारतबाट प्रायोजित रुपमा हात्ती छाडिएको त होइन भन्ने प्रश्न बाहुनडाँगीबासीका मनमा उब्जिनु स्वाभाविक हो ।’

भारतीय बन्यजन्तु आरक्षणमा सुरक्षाका साथ पालिएका हात्तीको बथानलाई बाहुनडाँगीमा धपाएर चराउने जस्तो शंकास्पद गतिविधि वर्षौदेखि भइरहेको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ–‘भारतबाट आउने हात्तीलाई सीमामै रोक्ने उपाय खोजौं भनेर धेरैपटक भनिसक्यौं । हाम्रा पीडा र पीरको भाषा कसैले बुझेनन् ।’

पछिल्लो समय बाहुनडाँगीका युवाहरुमा धैर्यको सीमा टुटेर आक्रोशमा परिणत हुन थालेको उहाँको भनाई छ । मेचीनगर नगरपालिका, वडा कार्यालयहरु र संघ तथा प्रदेश सरकारसँग बाहुनडाँगीबासी असन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

‘हात्तीको आक्रमणमा सयौंको मृत्यु भइसक्यो, घाइते भइरहेका छन्, करोडौं धनमाल क्षति भयो,’ उहाँ भन्नुहुन्छ–‘तर, समस्या ज्यूँका त्यूँ छ । हात्ती आउने छाडेको छैन । मानिसहरु आतंकबाट मुक्त हुन सकेका छैनन् । यति भयानक समस्यालाई सरकारहरुले गम्भीरतापूर्वक नलिएको बाहुनडाँगीबासीको बुझाई मात्र होइन, भोगाई छ ।’

उहाँले निकट भविष्यमा जनाक्रोश अझै बढेर जाने चेतावनी समेत दिनु भएको छ । भोट माग्ने बेलामा समाधान गरिदिन्छौं भनेर आश्वासन बाँड्ने र चुनाव जितिसकेपछि फर्केर पनि नहेर्ने प्रवृत्ति जनाक्रोश बढाउने कारण भएको उहाँको धारणा छ ।

घिमिरेले बाहुनडाँगीलाई हात्तीको चरन क्षेत्र बनाउन नहुने बताउनुभयो । ‘यो चरन क्षेत्र होइन, हात्ती प्रभावित क्षेत्र हो’– उहाँको भनाई छ । हात्तीलाई संरक्षण गर्ने, पर्यटक डुलाउने र क्षतिलाई टुलुटुलु हेरिरहने अवधारणा आउन थालेकोमा स्थानीयबासी सशंकित रहेको उहाँले बताउनुभयो ।

उज्यालो नेपाल लगायतका गैरसरकारी संस्थाहरुले पनि भारतबाट आउने हात्ती रोक्नेतर्फ चासो नदेखाएको उहाँको आरोप छ । सीमामा बलियो विद्युतीय घेराबेरा गरौं भन्ने जनताको मागलाई गैससहरुले वेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो ।

दश वर्षअघि विश्व बैंकको सहयोगमा बाहुनडाँगीको पूर्वी सीमामा लगाइएको १७ किलोमिटर सौर्य विद्युतीय घेराबारा हाल निष्प्रभावी बनेको जनाउँदै त्यो घेराबारा संरचनाको आयू नै ८ वर्ष मात्र भएको बताउनुभयो । डेट एक्सपायर भइसकेको पुरानो विद्युतीय घेराबाराको ठाउँमा नयाँ संरचना बनाउन आवश्यक रहे तापनि सरकार र गैससहरुले त्यतातिर कुनै पहल नगरेको घिमिरेले गुनासो गर्नुभयो ।

सीमामा नयाँ घेराबारा गर्नुपर्ने, बाली बिमा गरिदिनु पर्ने, हात्ती डुलाउने करिडरको अवधारणा त्याग्नु पर्ने, समुदायबाट गठित मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चलाई पर्याप्त बजेट दिइनु पर्ने र हात्ती प्रभावित जनताका लागि दातृ निकाय र सरकारबाट आएको बजेटको खर्च पारदर्शी हुनुपर्ने उहाँले सुझाव दिनु भएको छ ।