विचार
विचार
व्यक्ति त उहाँ अति साधारण हो । लुवाई, खुवाई, हिँडाई र बोलाई हेर्नुहोस् । पाउमा फित्ते चप्पल छ । शीरमा हाते तानमा बुनेको ढाका टोपी । तर, मुटुमा चाहिँ देशलाई उज्यालो बनाउने असाधारण सपना छ । उहाँको भाषण पनि मुग्ध पार्ने खालको छैन । सभामा बस्दा होस् या माल्र्यापण गर्दा, उहाँ फुक्र्यौलो मुडमा कहिल्यै देखिनुहुन्न । विर्तामोड, भद्रपुर र मेचीनगरको कार्यक्रम हेर्दा वक्ताहरुले यसोउसो भनेर प्रशंसाका पुल र फूल हालेर भाषण गरिरहँदा त्यति ध्यानले सुनेको जस्तो पनि देखिदैन । उहाँ सभाहरुमा प्रायः निहुरमुन्टी लगाएर मोवाइलमा घोत्लिरहेको देखिनुहुन्छ ।
व्यक्ति साधारण तर व्यक्तित्व असाधारण । पहिरन, अनुहार र भाषणले मानिस महान हुँदैन । महान सोच र कर्मले उहाँ आज तीन करोड नेपालीको मन र मुटुको ढुकढुकी बन्न सफल हुनुभएको हो । उहाँको आत्मकथाको किताब विक्रीले मुुलुकभित्र मात्र नभएर विश्व रेकर्ड नै कायम गर्ने संकेत मिलिरहेको छ । रु. ७५० को किताब रु. १५ करोडको हाराहारीमा विक्री हुनु चानचुने कुरा होइन । झापालीले यसपाली रु. ७० लाखको हाराहारीमा किताब किनिसकेका छन् । झापामा संकलन भएको नगद उहाँले आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरिसक्नु भएको पनि छ । यत्रो किताब किन विक्री भइरहेको छ ? धेरैलाई अचम्म लागिरहेको होला । मातृभूमिलाई समुन्नत बनाउने महान सोच र त्यसलाई साकार तुल्याउन उहाँले गरिरहेको अथक परिश्रमप्रतिको सम्मान नै किताब विक्रीको कारण हो ।
किताबमा उहाँले दुनियामै कसैले नलेखेको विषयवस्तु लेख्नु भएको पनि होइन । म्याग्दीमा ताररहित इन्टरनेट पुर्याएको संघर्ष, विश्वविख्यात म्यागसेसे पुरस्कार प्राप्त भएको लगायतका अनेकन बेलिविस्तार छ । किताबको पाना पाना पठनीय छन् । त्यसको अर्थ महावीर पुनको आकिताब विश्वकै उत्कृष्ट भने होइन । उहाँले देशका लागि गरेका कामहरु चाहिँ उत्कृष्ट छन् । मानिसहरु किताबभित्र के छ भनेर मात्र किताब किनिरहेका छैनन् । एउटा किताब किनिदिदा यो देशको अलिकति मुहार फेरिन्छ भने किन नकिनुँ भन्ने सोचेर सापटी काढेर पनि झापालीहरु महावीरको किताब किनिरहेका छन् । एउटा किनेको किताबले वीरगञ्जको औजार कारखानाले नयाँजीवन पाउँछ भन्ने सोचेर किताब किन्न लामवद्ध भइरहेका छन् ।
कसैले के सोच्लान्, कसैले के भन्लान् । कसैलाई महावीर भोलिको प्रधानमन्त्री वा राष्ट्रपति भएको देख्न मन होला । कसैलाई सरकारप्रति बढिरहेको अविश्वासको रुपमा महावीरलाई सहयोग भइरहेको हो भन्ने पनि लाग्ला । मलाई चाहिँ महावीर एक असल देशभक्त नागरिक लाग्यो । पपुलिज्मको सिढी चढेर उहाँलाई नेता देख्ने रहर मलाई चाहिँ छैन । बरु, यो देशका थुप्रै मानिसहरु महावीर पुन जस्तै बनिदिए हुन्थ्यो भन्ने लागिरहेको छ ।
किताब त झापामा धेरैको धेरै विक्री भए । प्रधानमन्त्री केपी ओलीको पनि विक्री भए । पूर्व सेनापति रुक्मांगत कटवालका पनि किताब विक्री भए । मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र उत्प्रेरक कर्ण शाक्यका किताब पनि धेरै विक्री भएकै हुन् । भगवान कोइरालाले किताब बेचेरै बालवालिकाका लागि अस्पताल बनाउने घोषणा गर्नुभयो । अरुले किताब बेचेर सार्वजनिक हितमा लगाएको मलाई थाहा नभएको पनि हुनसक्छ । सबैका किताब राम्रा हुन्छन् । अझ समीक्षकहरुले किताबका गुदी उधिनेर पढुँ पढुँ लाग्ने बनाएका छन् । महावीर पुनको किताबभित्र यस्तो गुदी छ भनेर फूलबुट्टा हानेर प्रचार गरिदिएको मैले समीक्षा पढ्न पाएको छैन । अरुभन्दा महावीरको किताब बढी विक्री हुनुमा त्यही कारण छ । अरु किताबहरु पाठकले रोजेर किनेका होइनन् भन्न मिल्दैन । तर, महावीरका किताब सिंगो झापाले रोजेको पाइयो ।
मानिसहरु व्यक्ति र व्यक्तित्व दुबैको पूजा गर्छन् । व्यक्तिको पूजन स्वार्थ र शक्ति आर्जनका लागि गरिन्छ भने व्यक्तित्वको पूजन निःस्वार्थ सम्मानका लागि हुन्छ । वैज्ञानिक डा. महावीर पुनप्रति झापामा देखिएको सम्मान र सहयोगको जनलहर असाधारण छ । यो उहाँको व्यक्तित्वको सर्वमान्य पूजन हो । यसमा दुईमत हुन सक्दैन । उहाँको फेसबुकका कतिपय अन्ठसन्ठ लेखाईका आधारमा नकारात्मक धारणा बनाउनेहरु नभएका होइनन् । कमी कमजोरी उहाँका पनि होलान् । तर, देश बनाउन किताब बेचेर हिँड्ने र एउटा लक्ष्यमा अनवरत लागिरहने महावीर समस्त नेपालीका प्रेरणाका स्रोत हुनुहुन्छ । दश वटा गुण छन् भने एउटा दुर्गुणलाई देखाएर कसैलाई खराब भन्न मिल्दैन । लेख्ने कुरा व्यक्तिगत स्वतन्त्रताको विषय हो । त्यो उहाँलाई पनि छ । नेताहरुलाई गाली गर्दैमा नेताका समर्थकहरु नकारात्मक बनिहाल्नु हुँदैन । गाली होइन, ताली खानलायक नेताको खाँचो छ भन्ने बुझ्नु आजको आवश्यकता हो ।
महावीर पुन भद्रपुरमा आइपुग्दा किताब विक्रीले छलाङ मार्यो । त्यहाँका नगरप्रमुख गणेश पोखरेल, प्रसिद्ध उद्योगी दिपेश ढकाल, पूर्वनगरप्रमुख जीवनकुमार श्रेष्ठ लगायतले विक्री अभियानको नेतृत्व गर्नुभयो । भद्रपुरपछि मेचीनगरमा महावीर पुनको किताव विक्री अभियानले व्यापकता लिइरहेको छ । मेचीनगरमा नगरप्रमुख गोपाल बुढाथोकी, पूर्व नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइराला किताब किन्न एउटै कार्यक्रममा देखिनुभयो । किताब विक्री अभियानमा भद्रपुरका दिपक तिम्सिना, दमकका राउत काजी लगायतको मिहेनत पनि उल्लेखयोग्य देखियो ।
कतिपयले ‘पुस सेलिङ’का कारण महावीरका किताब बिकिरहेका छन् भनेर टिप्पणी गरेको सुनेको छु । कसैले अभियान चलाएकै कारण र ‘पुस सेलिङ’कै कारण महावीरको किताब बिकेका होइनन् । अरु कैयन किताबको विक्री अभियान ठूलो तामझामयुक्त हुने गरेका छन् । राजनीतिक दल, संस्था र समूह नै किताबको विक्री बढाउन लागेका हुन्छन् । तैपनि विक्री सोचेजस्तो हुँदैन । महावीरको असल कर्म र सोचलाई भुइँमान्छेहरुले मन पराएका छन् । किताब बिक्नुको मुख्य कारण त्यही हो ।
पुस्तकको विक्री सुरु गर्दैगर्दा महावीर पुनले २०८० असोज २५ गते फेसबुकमा लेख्नु भएको सन्देश मैले डिजिटल डायरीमा नोट गरेको थिएँ । उहाँका शब्दहरु यस्ता थिए–
‘लौ सुन्नु होस् । अहिलेसम्म मैले गरेको थुप्रै मुर्खतापूर्ण कामहरु जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुख्र्याईँ नै हो । यो किताब बेचेर आएको सबै पैसा बीरगञ्जको कृषि औजार कारखानाको सुधार गर्ने र सञ्चालन गर्ने काममा जाने छ । बीरगञ्जको कृषि औजार कारखानाको लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन । मैले यसो भन्दा कसैलाई हाँसो उठ्ला, कसैलाई दुःख लाग्ला, कसैलाई रीस उठ्ला । अनि कसैलाई मेरो मुख्र्याइँ र ढिपी देखेर रुन पनि मन लाग्ला । तर म अडिग छु र मैले हाँसेरै यो काम गर्दैछु । जिन्दगीमा आखिर मर्नु नै छ भने किन मुख्र्याइँ गरेर भए पनि अगाडि नबढ्ने ?’
उहाँको यी भनाई पढेर एउटा आम मान्छेले जे सोच्छन्, मैले पनि त्यही सोचेर महावीरको किताब किन्ने निधो गरेको छु ।