८ असोज २०८२, बुधवार

च्याउको बीऊ उत्पादन गरेर वार्षिक रु. डेढ करोड आम्दानी

५ असोज २०८२, आइतवार
Image

झापा, ५ असोज । विर्तामोड–३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीऊ उत्पादन गरेर उदाहरणीय उद्यमी बन्नु भएको छ । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीऊमा विदेशी निर्भरता घटेको छ ।

खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथिभरा च्याउ तथा बीऊ उद्योगले कोशी प्रदेशमै पहिलोपल्ट टिस्युकल्चर प्रविधिबाट च्याउको बीऊ उत्पादन गर्दै आएको छ ।

उद्योगबाट वार्षिक ४५ हजार केजी च्याउको बीऊ उत्पादन गर्दै आएको र यसबाट रु. एक करोड ५० लाखभन्दा बढी आम्दानी हुने गरेको खत्रीले बताउनुभयो ।

उद्योगमा सात जनाले पूर्णकालीन रोजगारी प्राप्त गरेका छन् । जसमध्ये आफूसहित तीन जना कामदार आफ्नै घरका सदस्य रहेको उहाँले बताउनुभयो । उद्योगबाट घर बाहिरका चार जना कामदारले पूर्णकालीन रोजगारी पाएका छन् ।

“च्याउ खेतीमा थोरै लगानी र मिहेनत गर्दा धेरै आयआर्जन गर्न सकिने भएकाले अहिले किसानहरुको आकर्षण बढेको देखिन्छ,” उहाँ भन्नुहुन्छ– “रोग नलाग्ने र स्वस्थबर्धक च्याउ उत्पादन हुने भएकाले बीऊका लागि टिस्युकल्चर प्रविधि प्रयोग गरिरहेका छौं ।”

टिस्युकल्चर प्रविधिबाट च्याउ उत्पादन गर्न उहाँले आधुनिक प्रयोगशाला स्थापना गर्नु भएको छ । जुन कोशी प्रदेशकै पहिलो हो । उहाँले सञ्चालन गर्दै आएको प्रयोगशालामा गहुँ, मकै र जुनेलोको दानामा टिस्युकल्चर प्रविधिबाट चयाउको बीऊ उमारिन्छ ।

भारतको उत्तरप्रदेश र विहारबाट टिस्युकल्चर प्रविधि बारे तालिम प्राप्त गरेपछि आफैले कोशी प्रदेशमा पहिलोपल्ट च्याउको बीऊ उत्पादन गरेको उहाँले बताउनुभयो । यसका लागि गहुँ लगायतका दाना स्वदेशकै प्रयोग भए तापनि रासायनिक तत्वहरु भने भारतबाटै ल्याउने गरिएको उहाँको भनाई छ । 

“हाम्रो उद्योगमा दैनिक १५० केजी गहुँबाट १५०० प्याकेट च्याउको बीऊ उत्पादन हुँदै आएको छ,” उहाँले भन्नुभयो– “प्रति प्याकेट बीऊ रु. ३५ मा बजारमा विक्री हुन्छ ।” 

उद्योगले च्याउ खेती गरिरहेका र नयाँ व्यवसाय सुरु गर्न चाहनेहरुलाई प्राविधिक परामर्श र कच्चा पदार्थ समेत उपलब्ध गराउँदै आएको छ । उद्योगबाट उत्पादित बीऊले माग धान्न नसकिरहेको उहाँले बताउनुभयो ।

झापामा उहाँले टिस्युकल्चर प्रविधि भित्राएपछि हाल जिल्लाभर उहाँको जस्तै च्याउको बीऊ उत्पादन गर्ने १३ वटा उद्योग स्थापना भइसकेका छन् । पाथिभरा च्याउ तथा बीऊ उद्योगद्वारा उत्पादित च्याउको बीऊ झापासहित इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, सिराहा, सप्तरी र रुपन्देहीसम्म विक्री हुने गरेको छ ।

एकपटक च्याउ खेतीमा गरेको लगानीले लामो अवधिसम्म उत्पादन दिइरहने, श्रमिक कम लाग्ने र सामान्य प्राविधिक ज्ञानले हुने भएकाले पछिल्लो समय च्याउखेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । 

च्याउमा शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिन, अमिनो एसिड र पानी प्रशस्त मात्रामा पाइने भएकाले पौष्टिकताका लागि शाकाहारी र मांसाहारी दुबैले यसको तरकारी खाने प्रचलन छ ।