झापा, ६ असोज । जेनजी आन्दोलनपछि आगजनीमा परेका अर्जुनधारा, मेचीनगर, कनकाई लगायत जिल्ला अधिकांश पालिकाले भग्नावशेषबाट खरानी पन्छाएर आजदेखि अत्यावश्यक सेवा सुरु गरेका छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते झापाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएको थियो । त्यसयता पालिकाहरु बन्द थिए ।
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताउनुभयो ।
“नगरपालिकाको सेवा केहीदिन अघि नै सुरु गरिएको थियो,” उहाँले भन्नुभयो– “सबै वडा कार्यालयको सेवा पनि आजदेखि थालेका छौं । जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका सेवाहरु अब सुचारु भएका छन् । जुन तत्काल नहुँदा पनि हुन्छ, त्यस्तो सेवा चाहिँ अहिले दिन सक्दैनौं ।”
नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व संकलन लगायतका सेवा सुरु भएको हो । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा गरेको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिहरु लगायतको सामाजिक सुरक्षा भत्ता बैंक खातामा पठाइसकिएको उहाँले बताउनुभयो ।
नगरपालिकामा ११ वडा छन् । जेनजी आन्दोलनका क्रममा नगरपालिका र सबै वडा कार्यालयमा आगजनी र तोडफोड भएको थियो । भग्नावशेषहरुको सरसफाई र मर्मत गरेर नगरपालिका कार्यालयको सभाहलमा एउटै थलोबाट सबै वडाको एकीकृत सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
कनकाई नगरपालिकाले आगजनीमा परेको भवनबाटै आज सेवा सुरु गरेको छ । नगरमा नौ वटा वडा कार्यालय छन् । सबै वडा कार्यालयमा जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएका थिए ।
नगरपालिकाबाट न्यूनतम् आवश्यक सेवा प्रदान गर्न थालिएको र दुई दिनपछि सबै वडाले आफ्नै वडा कार्यालयबाट वडाबासीलाई सेवा दिनेगरी तयारी भइरहेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।
नगरका छ हजार नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । सामाजिक सुरक्षा कार्ड नवीकरण भएका सबैको भत्ता बैंक खातामा पठाइसकेको उहाँले जानकारी दिनुभयो । ध्वस्त भएको वडा कार्यालयमा सरसफाई सकेर विद्युत, इन्टरनेट, फर्निचर, पानी लगायतको सुविधा पुर्याइएको उहाँले बताउनुभयो ।
“आन्दोलनमा नगरपालिकाको मुख्य भवनको भुइँतला पूर्णरुपमा जलेको छ,” उहाँले भन्नुभयो– “जलेको भागको खरानी पन्छाउँदै कार्यालय पुनःसञ्चालन गरेका छौं । भवन प्रयोग गर्न उपयुक्त हो कि होइन भनेर प्राविधिक परीक्षण हुन बाँकी छ ।”
मेचीनगर नगरपालिकाको मुख्य प्रशासनिक भवन र १५ वटामध्ये १४ वटा वडा कार्यालय जेनजी आन्दोलन क्रममा आगजनी र तोडफोड भएका थिए । नगरपालिकाले आजदेखि आंशिक सेवा प्रारम्भ गरेको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
“अति आवश्यक विषयलाई प्राथमिकता दिएर सेवा सुरु गरेका छौं,” उहाँले भन्नुभयो– “वडा कार्यालयहरुबाट पनि सरसफाई गरेर जनताको सेवा सुचारु गरिएको छ । हामी युद्धस्तरमा काम गरिरहेका छौं ।”
विर्तामोड नगरपालिका, कचनकबल गाउँपालिका र झापा गाउँपालिकाले सरसफाई गरिरहेका छन् । “भवन ध्वस्त भएको छ, कागजपत्र जलेर खरानी भएका छन्,” विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले भन्नुभयो– “अत्यावश्यक सेवा पाँच दिन पछि सुचारु गर्छौं ।”