२१ पुष २०८२, सोमवार

रण–खड्ग फाउन्डेसनद्वारा तीन प्रतिभा पुरस्कृत

२० पुष २०८२, आइतवार
Image

मेचीनगर, २० पुस । रण–खड्ग खवास फाउन्डेसनले शनिवार एक कार्यक्रमबीच समाजमा उदाहरणीय योगदान दिइरहेका तीन जना प्रतिभालाई पुरस्कृत गरेको छ ।

मेचीनगर–१० का युवा चित्रकार शाहनाबाज अली, मेचीनगर–१५ का कृषक नरेन्द्र धिमाल र मेचीनगर–१३ की महिला उद्यमी शशिकला लिम्बु पुरस्कृत हुनु भएको हो ।

फाउन्डेसनको तेस्रो वार्षिक साधारणसभाको अवसरमा जनही रु. १५ हजार नगद पुरस्कार र प्रमाणपत्रसहित दोसल्ला ओढाएर उहाँहरुलाई सम्मान गरिएको थियो ।

चित्रकार अलीलाई उत्कृष्ट प्रतिभा पुरस्कार, अर्गानिक कृषक धिमाललाई रण–खड्ग स्मृति कृषि पुरस्कार र उद्यमी लिम्बुलाई सिर्जनशील उद्यमी पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् लाल भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले पुरस्कृत तीनै जना प्रतिभालाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

उहाँले असल कार्य गर्नेहरु ओझेलमा पर्ने गरेको हुँदा सामाजिक संस्थाहरुले उनीहरुको मूल्यांकन गर्न सके समाजमा असल संस्कार विकास हुने धारणा व्यक्त गर्नुभयो ।

फाउन्डेसनका संस्थापक अध्यक्ष भीम खवासले समाजमा प्रेरणा जगाउने कार्य गरिरहेकालाई सम्मान गर्ने संस्थाको उद्देश्य रहेको जनाउँदै आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा रचनात्मक कार्य गरिरहेको बताउनुभयो ।

वडाध्यक्ष नारायण खनाल र सम्मानित युवा शाहनाबाज अलीले आफ्नो मन्तब्य राख्नु भएको कार्यक्रममा संविधानसभा सदस्य अम्बिका खवास, तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्याल, वडाध्यक्ष प्रह्लादमणि ओली, शहीद वीरेन प्रतिष्ठानका अध्यक्ष पदम गौतम, साहित्यकार परशुराम तिम्सिना, विनोद खनाल, अमिन अली, इन्द्रबहादुर थापा, वीपी भट्टराई, मोहन काजी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घोषण शीला खवासले र स्वागत मन्तब्य छाया खवासले गर्नु भएको थियो ।