झापा, २३ पुस । मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगी बजारमा माघे संक्रान्तिको अवसर पारेर पुस ३० र माघ १ गते अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ ।
सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भूटानका तरुल लगायत रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्ष एवम् वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।
हात्ती प्रभावित क्षेत्रको रुपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरुल महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवमा प्रदर्शन गरिने तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा महोत्सवको आकर्षण रहने जनाइएको छ ।
युएनडीपी, इसिमोड, डब्ल्यूडब्ल्यूएफ, प्रकृति संरक्षण कोष लगायतका गैरसरकारी संस्थाहरुले सहयोग गरेको महोत्सवमा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टा समेत सहभागी रहेका छन् ।
परम्परागत रुपमा उपभोग हुँदै आएको रैथाने खाना स्वस्थबर्धक र पोषिलो हुने अध्ययनहरुले देखाएका छन् । यसको महत्त्व दर्शाउन र पर्यटकीय चहलपहल बढाउन महोत्सव प्रभावकारी हुने अपेक्षा गरिएको आयोजक समितिका सचिव निरज घिमिरेले बताउनुभयो ।
महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको सांगीतिक प्रस्तुति रहने भएको छ ।