झापा, ३ माघ ः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्यको उम्मेद्वार नबन्ने घोषणा गर्नु भएपछि झापा निर्वाचन क्षेत्र नं. १ मा पार्टीले केन्द्रीय समितिमा पाँच जनाको नाम उम्मेद्वारको रुपमा सिफारिस गरेको छ ।
आज बसेको नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय समितिको बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज बिक्रम नेम्वाङसहित पाँच जनाको नाम सिफारिस गरेको पार्टीका क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताउनुभयो ।
उम्मेद्वारको रुपमा नाम सिफारिस हुनेहरुमा अधिवक्ता अशोक कुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू हुनुहुन्छ । पार्टीका तत्कालीन महामन्त्री एवम् वत्र्तमान उपसभापति शर्मा वि.सं. २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको थियो ।
गत महिना पार्टीको क्षेत्रीय समितिको बैठकले उपसभापति शर्माको एकल नाम उम्मेद्वारको रुपमा सिफारिस गरेको थियो । तर, शर्माले यसपटक उम्मेद्वार नबन्ने घोषणा गर्नु भएको कारण नयाँ नामहरु केन्द्रीय समितिको निर्देशन बमोजिम पुनः सिफारिस गर्नु परेको क्षेत्रीय सभापति बुढाथोकीले बताउनुभयो ।
सिफारिस हुनु भएकोमध्ये पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष हुनुहुन्छ भने अशोककुमार पोखरेल नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । सुवेशकुमार पनेरू पार्टीको मेचीनगर कार्य समितिको सभापति, बिना तामाङ सामाजिक अगुवा र गौतम मजुमदार युवा नेता हुनुहुन्छ ।