२२ माघ २०८२, बुधवार

मेचीनगरबाटै सुरु भयो मालपोत सेवा

२२ माघ २०८२, बुधवार
Image

मेचीनगर, २१ माघ । मेचीनगर नगरपालिकाबाटै आजदेखि मालपोत कार्यालयले दिने सेवा सुविधा सुरु भएको छ । सो सेवा सुरुभएसँगै मालपोत कार्यालय चन्द्रगढी धाउँने झन्झटबाट मेचीनगरबासीले मुक्त हुने भएका छन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमारी ईङ्नाम, सुशासन फाँटका सल्लाहकार दीपक ओलीको रोहवरमा भूमि सुधार तथा मालपोत कार्यालय झापाका सुवास श्रेष्ठ र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीबीच सहमतिमा हस्ताक्षर भएको छ ।

नगरपालिकाले पहिलो चरणमा राजीनामा, रोक्का र फुकुवाको काम गर्ने नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो । हस्ताक्षर कार्यक्रममा सल्लाहकार ओली, जिल्ला मालपोत कार्यालयका प्रमुख श्रेष्ठले स्थानीय सरकार अन्तरगत देशभरीमा मेचीनगरमा तेस्रो कार्यालयका रूपमा मालपोतको सेवा सूचारू गर्ने सहमति भएको जानकारी दिनुभयो ।

नियमित सेवा विस्तार अन्तरगत कार्यान्वयनका लागि मेचीनगरमा सुरू गरिएको हो । कित्ताकाट बाहेक अन्य सबै सेवाहरू  नगरपालिकाबाटै सूचारू हुने राजश्व शाखा प्रमुख प्रेम पराजुलीले बताउनुभयो । 

उहाँका अनुसार ससीम कित्ता भएको जग्गाको नामसारी, दृष्टिबन्धक, बैंक रोक्का लगायतका काम यहीबाट हुनेछ ।